सुरुङ्गा । 

झापा निर्वाचन क्षेत्र नं.४ का जनताको समस्यासँग लड्दै आएका निवर्तमान सांसद एलपी साँवा लिम्बू संसदमा दोस्रो इनिङको दौडमा छन् । नेकपा एमाले १ नं.प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका साँवा वैदेशिक रोजगार विभागको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । 

यस अघिको कोरोनासँगैको पाँच वर्षे कार्यकालमा सुरुवात गरेका विकासे योजनालाई किनारा लगाउँन आफ्नै उपस्थिती सहज हुने भन्दै थप महत्वकांक्षी योजना लिएर संसदमा दोस्रो इनिङ गर्ने दौडमा छन् एलपी साँवा । यहि मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका रुपमा रहेका साँवा यतिबेला मतदाताको घरदैलोमा अन्तिम भेटघाटमा छन् । राप्रपासँगको तालमेल रहेको यस क्षेत्रमा साँवासँगै क्षेत्रनं.४ प्रदेश (१) मा एमालेका राधाकृष्ण खनाल र प्रदेश २ मा राप्रपाका भक्तिप्रसाद सिटौला चुनावी मैदानमा छन् ।    

मतदाताका रुपमा रहेका जनताबाट अधिकांश जनप्रतिनिधीहरुलाई लाग्ने आरोप भनेको चुनाव पछि नेताहरु निर्वाचन क्षेत्रमा फर्किएर आउँदैनन् भन्ने हो । तर यस अघि झापा क्षेत्र नं.४ बाट निर्वाचित एलपी साँवामा भने केही भिन्न व्यवहार पाएको स्थानीयवासी बताउँछन् । 

यस क्षेत्रका सांसद एलपी साँवाको सांसद स्थानीय विकास पूर्वाधार कोषको ५५ लाख लागत र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाट झापा गाउँपालिका ७ र ६ को विचमा रहेको सानो माइमा बक्स पुल हालिएपछि यस गाउँपालिकाका प्रायः सबै वडा विच नागरिकको आवतजावत गर्न सजिलो भएको बताइएको छ । पुल निर्माणसँगै झापा गाउँपालिका वडा नम्बर १,२,३,६ र ७ नम्बरवासीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । पुल नहुँदा यस क्षेत्रको गाउँमा बर्खामा एम्बुलेन्स लगायतका अत्यावश्यकीय साधन नजाँदा विरामी तथा विद्यार्थीलाई समेत समस्या हुने गरेको थियो । यस्ता दर्जनौ योजनाहरु साँवाको को पहलमा भएका कारण नागरिकको जीवनशैली समेत सहज बन्दै गएको भनाई छ, शिवसताक्षी ३ का कुमार श्रेष्ठ को ।

झापा क्षेत्र नंं ४ का बासिन्दाका लागि खोला–नदीको कटान र डुबान मुख्य समस्या हो । तर पछिल्ला वर्षहरुका नदी किनारका बासिन्दाले ढुक्कले निदाउन पाएका छन् । कटान र डुवान समस्या समाधानका लागि नदी तटबन्धनको कार्यले स्थानीयबासीहरुलाई ठुलो राहत पुगेको छ । ‘यस भेगको प्रमुख समस्या भनेकै खोला नदी हो, जनताको तटबन्धन कार्यक्रम मार्फत नागरिकले अनुभूती गर्ने गरि काम भएको छ’– गौरीगञ्ज १ का विष्णु राजवंशीले बताए । 

यस क्षेत्रबाट यस अघि समेत निर्वाचित संघीय सांसद एलपी साँवाको पहल र प्रयासमा मुख्य चुनौतीको रुपमा रहेको नदी कटानको समस्या न्युनीकरण भएको हो । यहाँको तत्कालिन महाभाराको होक्कलबारी र कोरोबारीको आमगाछीमासहित जनताको तटबन्धन कार्यक्रम मार्फत नदी नियन्त्रणको काम भएको स्थानीयवासी बताउँछन् ।

गौरिगन्ज १, शिवगञ्ज, भेलामुनी, विश्वाडुवाको तटिय क्षेत्रलाई अहिले सुरक्षीत बाँध बाँधेर जोगाउने काम भएको छ । शिवसताक्षी वडा नं ४ , ५ र ६ को क्षेत्र, झापा गाउँपालिकाको बिरिङ नदि क्षेत्र अन्तरगत वडा नं १ , २, ७ मा पनि नदि नियन्त्रण गरिएको छ । बिरिङ नदि अन्तर्गतकै पन्थापाडा– झापागापाको वडा नं. ५, –दुार्गापुर– क्षेत्र अर्थात कनकाई १ र ७ मा पनि नदी नियन्त्रणकालागि काम भएको छ । कमल बनियानी नदि अन्तर्गत शिवसताक्षी वडा नं १, २ र ३ मा, सताक्षी खोला वडा नं ६, ८ र ११ मा नदी नियन्त्रण भएकै कारण यहाँका बासिन्दाले सहज जिवनयापन गर्न पाएका छन् ।

केहि वर्षं अघि सम्म वर्षायाममा खोलो बग्ने र हिउँदमा बालुवा उड्ने जमिनमा अहिले लहलह खेती हुन थालेको छ । आफ्नो जमिन खोलाले बगर बनाएपछि उठिबास हुनु पर्ने अवस्थामा पुगेका किसान अहिले खोलो तह लागेपछि भने बाह्रै महिना खेती गरेर आम्दानी लिन थालेका छन् ।

शिवसताक्षी नगरपालिकामा पर्ने दुधे पुल दक्षिण दुधे खोलामा २०० मिटर तटबन्धन भएको छ । यसबाट खोलाको कटान नियन्त्रण मात्र भएन करिब १५ विगाह जग्गा पुरानै अवस्थामा फर्किइएको छ । यसले किसानहरुलाई आफ्नै ठाउँमा बसेर गरी खान सक्ने अवस्था बनेको शिवसतक्षी ११ का देवेन्द्र खरेलले बताए ।

वर्षौसम्म कनकाई नदीको कटानबाट पिडीत भएकाहरु पनि अहिले त सन्तोषको स्वास फेर्न थालेका छन् । शिवसताक्षी १० का देवीप्रसाद अधिकारीले अब त कनकाईले दुःख दिने दिन गए भन्दै खुशी व्यक्त गरे । यस्तै खोला पिडीत केशव ढकाल पनि केहि वर्ष देखि कटान नियन्त्रणले गति लिएपछि खोलाकै कारण उठिबास हुने दिन सकिए भन्नेमा आशावादी छन् ।