बिर्तामोड ।
झापा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कुकुर बन्ध्याकरण शिविरमा एक सय ७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको छ ।
बिहीबार र शुक्रबार गरी दुई दिन आयोजित शिविरमा नगरका सबै वडाबाट कुकुर संकलन गरीएको थियो । नगरपालिकाले २०७५ सालदेखि हरेक वर्ष नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता शिवाले जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर उपयुक्त रहेको बताइन् । सामुदायिक कुकुरका कारण सडक दुर्घटनासमेत बढेको भन्दै उनले शिविरले यसको संख्या नियन्त्रणसँगै जोखिम पनि कम हुने बताइन्।
यस्तै नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सामुदायिक कुकुरको संख्या घटाउनको लागि बन्ध्याकरण शिविर प्रभावकारी देखिएको बताए। उनले छिमेकी पालिकाहरुले पनि यस प्रकारको शिविरको आयोजना गर्नु पर्ने बताए।
शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोड र संलग्न सर्जन डाक्टरहरुलाई प्रशंसा पत्रसमेत प्रदान गरीएको छ । कार्यक्रमकी अध्यक्ष कार्यपालिका सदस्य संगिता शिवाले सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटा, सर्जन डाक्टर सिजन सैंजु र निसा सञ्जेललाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
सामुदायिक कुकुरहरुले बालबालिका झम्टिने, रातिको समयमा यात्रा गर्न पनि असहज पारिदिने, साना पशु चौपायालाई आक्रमण गर्ने र दुर्घटनासमेत निम्त्याउने गरेका छन् । कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप पनि लगाइएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखाका प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए।