झापा ।
झापा कचनकवल गाउँपालिका वडा नम्बर ६ डम्बर गाछबाट प्रहरीले १२ लाख २० हजार रुपैयाँ मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ ।
आज (शनिवार) बिहान ८ः३० बजेको समयमा कचनकवल–६ डम्बर गाछकी अन्दाजी ४० बर्षिय नजमा खातुनको घरमा अबैध सामानहरु लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले सो सामाग्री नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले खातुनको घरमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा भन्सार छलेर ल्याई लुकाई छिपाई राखेको सामानहरु साडी ४०८ पिस, साडीको भित्री कपडा ४०० मिटर र डस्नाको कपडा ११० मिटर १२ लाख २० हजार बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण गरिएको सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय कार्यालय काँकरभिट्टा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।