बिर्तामोड।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं एकसय दिने अभियानका लागि झापा प्रतिनिधि दिपक गिरीले पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाली कांग्रेस झापाको बैठक एवं सयदिने अभियान अन्तरर्गत आयोजित बृहत भेलालाई जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले अभियानका क्रममा अभिमुखीकरण कार्यक्रम, सांगठनिक अवस्था, सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रिया, बैठक, सम्मेलन, कार्यतालिका, अभिलेखीकरण, भातृ तथा शुभेच्छुक संघसंस्थाको क्रियाशिलता, स्थानीय सरकार पार्टी जनप्रतिनिधि समन्वय, समसामयिक मुद्दा, महासमिति बैठकबाट पारित विषय, सरकार गठन र दलीय सहकार्य, पार्टीले लिएका अडान र जनसरोकारका बिषयमा पार्टीले अवलम्बन गर्नुपर्ने सन्दर्भका बारेमा बृहत छलफल हुने बताए।
‘यसले संगठनलाई बलियो र एकजुट बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ’–नेता गिरीले भने ‘अभियान सफल पार्नु हामी सबैको दायित्व हो, म नेता होइन, सहयोगी भएर आएको हुँ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले सयदिने अभियान अन्तरगत कोशी प्रदेश भेला र कचनकबल–सगरमाथा यात्रा कार्यक्रम तय गरिएको जानकारी दिए।
कचनकबल–सगरमाथा यात्राका क्रममा सबै नेता कार्यकर्ता एवं जनताको सामाजिक, आर्थिक अवस्था, जनजीवन, विकास निर्माण, सांगठनिक अवस्था बुझिने र सोही अनुरुप पार्टीको नीति तथा कार्यक्रमहरु बनाउन सहयोग पुग्ने धारणा राखे । अभियान अन्तरगत मंसिर २२ गते कोशी प्रदेश सम्मेलन र पुष १६ मा कचनकबल–सगरमाथा यात्रा प्रारम्भ गर्ने उनले जानकारी दिए।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वडा तहमा खटिनुभएका जिल्ला प्रतिनिधिहरुलाई वडा, टोलसम्म पुगेर केन्द्रले लिएको नीति र अभियान अनुरुप कार्य गर्न आग्रह गरे । वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुने बताउँदै सभापति थेवेले वडातहबाटै संगठन सुदृढीकरणमा लाग्न प्रतिनिधिहरुलाई आह्वान गरे ।
नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलामा स्वागत उपसभापति केशवराज पाण्डेले, धन्यवाद ज्ञापन उपसभापति शेरबहादुर भट्टराईले र सहजीकरण सचिव कृष्ण हुमागाईले गरेको सचिव नवीन विमलीले जानकारी दिए।
यसैबीच पार्टीको सयदिने अभियान अन्तरगत नेपाली कांग्रेस झापाले टोलदेखि क्षेत्रस्तरसम्मका कार्यक्रम तय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए। उनका अनुसार २०८१ मंसिर ११ गतेदेखि २२ गतेसम्म वडा र टोलसमितिको बैठकपश्चात १३१ वटै वडाको वडा भेला सम्पन्न गर्ने, मंसिर २४ गते भातृ तथा शुभेच्छुक संघसंस्थाको जिल्ला भेला, मंसिर २६ गतेदेखि पुष ३ गतेसम्म गाउँ÷नगर भेला एवं पौष ६ गतेदेखि १० गतेसम्म पाँचवटै क्षेत्रको क्षेत्रीय भेला कार्यक्रम तय गरिएको छ । साथै पौष १६ गते मेलमिलाप दिवसको अवसर पारेर सयदिने अभियान समापन एवं जिल्ला भेला सम्पन्न गरिने नेपाली कांग्रेस झापाले जनाएको छ ।