बिर्तामोड ।
स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार व्यवसायमा जमेका युवा उद्यमी छन् । व्यवसायमा लगानी गर्ने, अरुलाई रोजगारी दिने र व्यवसायिक क्षेत्रलाई गतिशील र प्रभावकारी बनाउने प्रयासमा उनीहरू लागेको देखिन्छ ।
व्यवसायमा जसरी युवा पुस्ताको बाहुल्यता बढ्दैछ, त्यसैगरी सङ्घको नेतृत्वमा पनि स्थापित युवा व्यवसायीलाई निर्वाचित गराउनुपर्छ भन्ने पक्षमा आम व्यवसायी देखिएका छन् । अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट वाणिज्य सचिवमा उम्मेदवारी दिएका कृष्णप्रसाद चापागाईं व्यावसायिक क्षेत्रका सशक्त युवा हुन् ।
बिर्तामोडको न्यू नवज्योति सप्लायर्स, सिटी कम्युनिटी एजुकेशन र कम्युनिटी ट्रेनिङ सेन्टरका सञ्चालक तथा सह सञ्चालक चापागाईं बिर्तामोडको व्यावसायिक विकासका लागि उद्योग वाणिज्य सङ्घले अग्रसरता लिन सक्नुपर्ने बताउँछन् । १० वर्ष कोरियामा बसेर स्वदेशमा नै केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति र मान्यताका कारण बिर्तामोड फर्किएर व्यवसायमा संलग्न भएका चापागाईंले यस क्षेत्रको आर्थिक विकास र रूपान्तरणका लागि युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
वाणिज्य तथा व्यापारका क्षेत्रमा अनगिन्ती सम्भावनाहरू रहेको देखेका चापागाईं व्यावसायिक सुरक्षाको प्रत्याभूति हुन सके लगानीका लागि समस्या नपर्ने धारणा राख्छन् । व्यवसायिक क्षेत्रमा देखिएका अनेकथरी समस्या र चुनौतीले लगानी नै डुब्ने हो कि भन्ने खतरा हुँदा धेरै उद्योगी व्यवसायी पलायनको स्थितिमा पुगेकोप्रति सरकार र व्यवसायिक क्षेत्रका अगुवाको ध्यान जानुपर्ने उनले बताए ।
पूर्वको व्यापारिक सहर बिर्तामोड सम्साँझै बन्द हुन्छ । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ फैलिएको बजार यति छिट्टै बन्द हुनु व्यावसायिक क्षेत्रका लागि दुर्भाग्यको विषय हो । रात्रिकालीन बजार व्यवस्थापनका लागि सुरक्षा र स्थानीय प्रशासनसँग समन्वय गरेर अगाडि बढ्न सकिने वाणिज्य सचिवका उम्मेदवार चापागाईं बताउँछन् । यसै पनि नेपालमा कर प्रणाली झन्झटिलो छ । यसलाई सरलीकृत गर्दै करका दरमा हेरफेर गर्न सकिए मात्र व्यावसायिक क्षेत्रले गति लिने अपेक्षा गर्न सकिन्छ भन्ने मान्यता चापागाईंको छ । व्यवसायिक क्षेत्रले भोगेको अर्को समस्या चन्दा र चिठ्ठाको हो । यो समस्याबाट बिर्तामोडका उद्योगी व्यवसायी निरन्तर पीडित र प्रभावित हुँदै आएका छन् । यस विषयमा वाणिज्य सङ्घले पर्याप्त रुपमा आवाज उठाउन नसकेको चापागाईंको ठहर छ । व्यवसायिक क्षेत्रमा हुने बन्द हड्तालले व्यापार व्यवसाय प्रभावित हुँदा त्यसले समस्या निम्त्याउनेतर्फ सचेत हुनुपर्ने बताउँदै चापागाईंले बिर्तामोडलाई बन्दमुक्त सहरका रुपमा स्थापित गर्नुपर्ने बेला भइसकेको र यसलाई आफूले प्रमुख एजेन्डाका रुपमा उठाउने दृढता व्यक्त गरे । सहरी शोभाका रूपमा सडक बत्ती र व्यवसायिक सुरक्षाका लागि सिसी क्यामेरा जडानमा वाणिज्य सङ्घले प्रभावकारी पहल गर्नुपर्ने विद्यमान परिस्थितिका बीच वाणिज्य सचिवका उम्मेदवार चापागाईले यसमा आम व्यवसायीको सहयोग र सहभागिता सुनिश्चित गर्दै वित्तीय अपराध हुन नदिन सबैले एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।
व्यावसायिक क्षेत्रका नीतिगत मुद्दामा बहस पैरवी गर्न, तर्क र धारणा राख्न, आम उद्योगी व्यवसायीका समस्या समाधानका लागि पहल र प्रयत्न गर्न आफू दृढतापूर्वक चुनावी प्रतिस्पर्धामा उत्रिएको चापागाईं बताउँछन् । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गरेको अनुभवका बीच उनी बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन लड्न तयार भएका हुन् ।
अन्तर्राष्ट्रिय झापाली समाजका पूर्व उपाध्यक्ष रहिसकेका चापागाईं अहिले विभिन्न स्थानीय सामाजिक संघसंस्थामा क्रियाशील छन् । झापाली समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष चापागाईंले अरु संघ संस्थामा रहेर काम गरेको आफ्नो अनुभवलाई बिर्तामोडको उद्योग वाणिज्य क्षेत्रमा साट्न चाहेका छन् । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोच राखेर फर्किएको एउटा युवालाई बिर्तामोडका आम उद्योगी व्यवसायी मतदाताले निराश बनाउँदैनन् भन्नेमा चापागाईंको विश्वास छ । मतदाताको मन र मत जितेर वाणिज्य सचिवका रुपमा काम गर्ने इच्छाशक्ति देखाएका चापागाईंले युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा समेत उल्लेख्य भूमिका खेलेका छन् ।