झापा ।

सरकारले महत्वाकांक्षी योजनाको रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुरु भएको छ । तर सुनसरी, मोरङ र झापाको अन्तिम बिन्दुबाट काम सुरु भए पनि बीचको रुटमा भने राजमार्ग निर्माणको काम अलपत्र परेको छ ।

सुनसरीको धरानको सदुखोलादेखि झापाको मेचीडाँगी चोकसम्मको कुल १३० किलोमिटर दुरी छ । जसमा ७३ किलोमिटर सडक मात्र ठेक्का लागेर चालु आर्थिक वर्षबाट निर्माणको काम सुरु भएको छ ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले धरानको सदु खोलादेखि झापाको रतुवाखोला र शान्तिनगरदेखि अन्तिम बिन्दु मेचीडाँगीसम्मको सडक ३३ महिनाभित्र काम सक्ने गरी तीनवटा प्याकेटमा ठेक्का लगाएर निर्माणको काम अघि बढाएको हो ।

गत आर्थिक वर्षबाट सडक विस्तारको काम सुरु भएसँगै पुल निर्माणको काम पनि अघि बढेको छ । जसका लागि सो रुटमा पर्ने विभिन्न खोलामा सानाठुला गरी ३१ वटा पुल निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । मदन भण्डारी सडक निर्माणका लागि पूर्वी रुटमा पर्ने खोलामा निर्माण गरिने पुलहरूको डिजाइन स्वीकृत नभई ३१ वटा पुल यसअघि नै ०७७ फागुन १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक शिलान्यास गरेका थिए ।

तीमध्ये डिजाइन तयारी भई स्वीकृत भएका १३ वटा पुलको निर्माण कार्य गत आर्थिक वर्षबाट अघि बढेको छ । अन्य बाँकी पुलको डिजाइन तयार गरी स्वीकृत हुने चरणमा छन् । अघिल्लो सरकारले आफ्नो अनुकूलतामा पुल निर्माणका लागि काम गरेकाले सोही अनुसार पुल जताजता छ, उतैउतै राजमार्गलाई मोड्ने गरी आयोजनाले राजमार्गको रेखांकन गरेको छ । जसका कारण धेरै स्थानमा अहिले रुटको विषयलाई लिएर विवाद कायम छ ।

यसबीचमा ओलीले शिलान्यास गरेकामध्ये १३ वटा पुल ५ अर्ब ८३ करोड रुपैयाँमा ठेक्का लागेर निर्माणको काम अघि बढेको आयोजनाले जनाएको छ । बाँकी पुलहरूको डिजाइन तयार गर्ने काम भइरहेको छ भने केही पुलको डिजाइन स्वीकृत भएर निर्माण थाल्ने तरखर हुँदैछ । झापाको बेलडाँगीदेखि शान्तिनगरसम्म अहिले पनि विवादका कारण सडक निर्माणको ठेक्का लगाउने काम रोकिएको छ । यो खण्डको सडक निर्माणका कामका लागि सर्भे लगायतका काम सम्पन्न भए पनि धेरै स्थानमा रुटको विषयमा विवाद कायम रहेकाले ठेक्का प्रक्रियाको काम रोकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ मा इलामको रोङ गाउँपालिकाको सलकपुरदेखि डडेल्धुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो । मदन भण्डारी राजमार्गको पूर्वी खण्ड (झापाको मेचीडाँगीदेखि सुनसरीको धरानसम्म) अधिकांश खण्डमा नयाँ ट्रयाक खन्नुपर्ने छैन । पुरानै सडकलाई रुट तोकिएकाले स्तरोन्नति गरेर काम गर्दा हुने अवस्था छ । यसअघि नै बनिसकेका स्थानीय सडक खण्डलाई नै राजमार्ग बनाउने गरी तत्कालीन समयमा प्रस्तावित रुट सार्वजनिक भएको थियो ।

तर, मोरङ, झापा र इलामका प्रस्तावित रुटमा पर्ने साविकका गाउँहरूलाई छल्दै राजमार्गको रुट एकाएक परिवर्तन गरिए पनि रुटका विषयमा मतभेद कायम छ । राजमार्ग क्षेत्रमा साविकका रुटलाई राजनीतिक स्वार्थका कारण एकाएक बदलिएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ ।

यो राजमार्गको सबैभन्दा बढी विवाद मोरङको लेटाङको जाँते–मधुमल्ला खण्डमा छ । सो विवाद अहिले पनि स्थायी रूपमा हल भइसकेको छैन । यद्यपि सो क्षेत्रमा राजमार्ग निर्माणको काम भने अघि बढेको छ ।

सुरुमा मदन भण्डारी राजमार्ग लेटाङको माथिल्लो भेगबाट गुवाबारी, जाँते बजार, खोलीटार, टाँडीको धोबिनी र मधुमल्लाको तोरीबारी हुँदै झापाको बेलडाँगीतर्फ लैजान खोजिएको थियो ।

यही रुटलाई प्रयोग गर्ने गरी सर्भे भएको थियो । तर, पछि रुट बदलेर दक्षिण लेटाङ, जाँतेको मदनचोक र कत्लेको मिक्खुखोला हुँदै मधुमल्लाको पुछारमा लगेर राजमार्ग जोडिएको छ । यसरी रुट फेरेर घुमाउरो बनाउनुको मुख्य उद्देश्य तत्कालीन प्रधानमन्त्री ओलीको गृहनगर दमकमा बन्न लागेको भ्यु टावरलाई छुवाउने योजना नै मुख्य रहेको मदन भण्डारी राजमार्ग उपभोक्ता सरोकार समिति नेपालका अध्यक्ष वृहस्पति खतिवडाले बताए ।