बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
निर्माणधिन बुट्टाबारी( प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताइन् । उनले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताइन् । यस्तै नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अवाञ्छित क्रियाकलाप गर्ने मान्छे देखि टाढा रहन सबैलाई सचेत गराए । बिर्तामोडमा लागुऔषधको भयाबह अवस्था रहेकोले कुनैपनि प्रकारका गतिविधि देखिए प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गरे ।
यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले लागूऔषधका कारण युवाहरु बिग्रदै गएकोले अभिभावकले निगरानी बढाउनु पर्ने बताए। उनले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने सडकको लगानीकर्ता वल्ड बैंकलाइ धन्यवाद व्यक्त गरे ।
सहभागीहरुलाई लागूऔषध नियन्त्रण सम्बन्धिका अभियन्ता सोमराज ढकालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, आयोजनाका टिम लिडर भुवनेश्वर देबले लागुऔषध नियन्त्रणमा जोड दिए। निर्माण व्यवसायी मनोज उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा ध्रुव उप्रेतीले स्वागत तथा बिजय तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा मनकामना कलेजका ब्याचलर अफ सोसियर वर्क (बिएसडब्ल्यु) मा अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक पेन्टोमाइम शो प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्लेकार्ड बोकेर र्यालीसमेत गरेका थिए ।