झापा । 

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागको कम्प्युटर प्रणालीमा भाइरस संक्रमणका एक हप्तादेखि सेवाग्राही मारमा परेका छन् । गत हप्तादेखि अवरुद्ध  राहदानी सेवा सहज हुन अझै केही समय लाग्ने भएको भएपछि सेवाग्राही मर्कामा परेका छन् । 

विभागले विभागमा अत्यावश्यक सेवा मात्र दिन सकिएको तथा जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नियोगहरूबाट सेवा सहज हुन अझै २ हप्तासम्मको समय लाग्ने जनाएको छ ।

विभागले समयमा राहदानी नबनाइदिँदा अध्ययन भ्रमण, औषधि उपचारमा जानेहरूसँगै वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार समस्यामा  देखिएका छन् । १ वर्षभन्दा कम अवधि रहेको राहदानीमा भिसा नलाग्ने भएका कारण राहदानी नवीकरण नहुँदा वैदेशिक रोजगारीमा रहनेहरूले भिसाको समस्या झेल्नुपर्ने त्रास देखिएको छ ।

राहदानी बनाउने मात्र नभएर राहदानी नवीकरण गर्न अनलाइन प्रणालीबाट विवरण भरेर इनरोलमेन्ट गर्नसमेत समस्या भएको कतिपयको गुनासो छ । राहदानी विभागबाट सिस्टम नचलेको सूचना जारी भएको भएपनि कतिपय जिल्ला प्रशासन कार्यालय र नियोगहरूले उक्त सूचना आफ्नो वेबसाइटमा नराख्दा सबै जसो सेवाग्राहीले सास्ती बेहोर्नु परेको बताएका छन् । 

राहदानीका लागि व्यक्ति आफैंले अनलाइन फारम भर्न सक्ने भएपनि फोटो खिचाउन र विद्युतीय हस्ताक्षर गरेर पेस गर्न सेवाग्राही काठमाडौंमा राहदानी विभाग र जिल्ला  प्रशासन कार्यालय जानुपर्ने बाध्यता रहेको छ ।