हल्दीबारी।
मेचे जातिको महान पर्व ‘बैशागु बथर’ विभिन्न सांस्कृतिक कार्यक्रम सहित हल्दीबारी–४ ऐनाबारीमा आज (बुधवार) सम्पन्न भएको छ ।हाज्रोङ्गा बलिखुङ्गी शिव पार्वती मन्दिर हल्दीबारीका व्यवस्थापन समितिका अध्यक्ष विशुलाल मेचेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाचकर्ण राईको प्रमुख आतिथ्य रहेको थियो ।

प्रदेश सांसद छवि चुडाल, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन (महेन्द्र) , हल्दीबारी–४ का वडाअध्यक्ष सन्तकुमार थापा, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं १ का वडा सदस्यहरू प्रकाश कार्की, महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा, कुलबहादुर वान्तवा, नेकपा एमाले हल्दीबारी का अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष बिजय लावती, राप्रपाका गाउँ समिति अध्यक्ष एकराज रानामगर, मेचे सिवियारी आफातका पूर्व केन्द्रिय अध्यक्ष सन्तलाल मेचे, रन्जित मेचे, सन्थाल समाज झापाका अध्यक्ष लखन हेमरम, एकता बहुउद्देश्य सहकारीका अध्यक्ष हरीकृष्ण अधिकारी, रेडक्रस जलथल सभापति रेम खरेल, साना किसान चिया उत्पादक सहकारीका अध्यक्ष हर्क तामाङ लगायतको आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले नेपालकै लोपोन्मुख मेचे जातिको संस्कृति, भेषभुषा मौलिकता जोगाउन सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यसैगरी उनले आफ्नै छुट्टै संस्कार र संस्कृति रहेको मेचे समुदायको हरेक क्षेत्रमा संलग्नता बढाउन पर्ने बताए ।
यस्तै प्रदेश सभा सदस्य चुडाल ले विशेष गरी झापा र मोरङमा रहेका मेचे समुदायको विशेष प्रकारको कला र साहित्य रहेकाले यसको संरक्षण गर्न आवश्यक पहल गर्ने बताए।
यसैगरी कार्यक्रममा बोल्दै हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन ले हल्दीबारीमा बाहुल्यता रहेको मेचे जातिको बैशागु पर्वमा पालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने र स्थानीय तहमा सबैभन्दा पहिले यो पर्वमा स्थानीय बिदा दिने गरेको बताए। यसैगरी उनले जातिय भेषभुषा तयारीका लागि सहयोग गरेको साथै आगामी दिनहरुमा पनि निरन्तरता दिने बताएका थिए।
कार्यक्रममा नेकपा एमालेका त्रिलोचन सापकोटा, नेकपा माओवादीका बिजय लावती, राप्रपाका एकराज रानामगर लगायतले मन्तव्य राखेका थिए। सन्तलाल मेचेले स्वागत गरेको कार्यक्रम संचालन दिपा मेचेले गरेकी थिइन्। कार्यक्रममा भारत आसामका कलाकारहरूले आफ्नो प्रस्तुती राखेका थिए भने स्थानीय सन्थाल नाच, चण्डीनाच पनि प्रस्तुत गरिएको थियो। आजबाटै हल्दीबारी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा मेचे जातजातिको भेषभुषा बनाउने तालिम पनि उद्वाटन गरिएको थियो।