बिर्तामोड । 

बिर्तामोड नगरपालिकाको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नति कार्य ८३ प्रतिशत सम्पन्न भएको छ। वडा नम्बर ६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण योजनाको रूपमा रहेको यो सडकमा अहिले तीव्रगतिमा काम भइरहेको छ।

आज (बुधवार) नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत इन्जिनियर सहितको टोलीले सडकको अनुगमन गरेको हो।

अनुगमनका क्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले ठेकेदारलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरी निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तीन वर्षदेखि यो सडकको स्तरोन्नति कार्य जारी रहेको उल्लेख गर्दै अस्फाल्ट प्रविधिबाट निर्माण भइरहेको सडकमा कालोपत्रेसँगै फुटपाथ, पेभर्स लगाउने, विद्युत पोल सार्ने, सडकबत्ती जडान तथा स्थानीयको मागअनुसार ट्रान्सफर्मर सार्ने कार्य पनिसंगै भइरहेको जानकारी दिए।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सडक निर्माण द्रुत गतिमा अघि बढिरहेको उल्लेख गर्दै दुई महिनाभित्र काम पूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले हालसम्म ३ किलोमिटर सडक कालोपत्रे भइसकेको, १ हजार २ सय मिटर एक हप्ताभित्र  र बाँकी दुई हप्ताभित्र कालोपत्रे हुने जानकारी दिए।

विश्व बैंकको करिब ६४ करोड रुपैयाँको लगानीमा १२.५ मिटर चौडाइ र २.२ मिटर फुटपाथसहितको यो ६।२ किलोमिटर सडक आरपी साप समता जेभीले निर्माण गरिरहेको छ।