बिर्तामोड ।
बिर्तामोड उद्योग बाणिज्य संघले ४४ औं बार्षिकोत्सव तथा स्थापना दिवसको अवसर पारेर संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । संघले पहिलो पटक आज (शुक्रवार) बिर्तामोडमा आयोजना गरेको ४४ औं स्थापना दिवस तथा बार्षिकोत्सवका अवसरमा संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको हो ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरिएको थियो । संस्थापक अध्यक्ष स्व. जलानको सम्मानपत्र उनका छोरा सजनकुमार जलानले ग्रहण गरेका थिए ।
सोही कार्यक्रमका बिच ‘द भ्वाइस किड्स सिजन ४’ का फस्र्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाइएको उल्लेख गरे । उनले २०३८ सालमा स्व. मन्तुराम जलानको अध्यक्षतामा स्थापना भएको संघलाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याएका पूर्व अध्यक्षप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले संघले पहिलो पटक भव्य रूपमा स्थापना दिवस मनाएकोमा अध्यक्ष न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै, जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको उल्लेख गरे ।
उनले अहिलेको युवा पुस्ताले चाहेका उद्योग–व्यवसाय खोल्न सरकार अगाडि बढ्नु पर्नेमा जोड दिनुहुँदै र आर्थिक नीति एकै ढंगले निर्धारण गर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।
स्वागत संघका बिशिष्ठ सदस्य निर्मल भट्टराईले गरेको कार्यक्रममा कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँलगायत, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुर्भूज सरीया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संगीत प्रस्तुतिसहितको कार्यक्रममा सम्मानित कलाकार स्मयन बजगाई र संस्कार सापकोटाले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।
कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष तथा संघका सदस्य दिनेश श्रेष्ठको संयोजनमा नेवार समुदायका युवायुवतीले धिमे बाजा बजाएर अतिथिहरूलाई स्वागत गरिएको थियो । उनीहरुलाई संघको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । उनीहरुलाई प्रदान गरिएको प्रशंसापत्र लाखे नाच तथा सांस्कृतिक संयोजक लक्ष्मी श्रेष्ठले ग्रहण गरेका थिए । बार्षिकोत्सव केक काटेर भव्य रुपमा मनाइएको थियो ।


















