हल्दीवारी । 

स्व. जगत बहादुर तथा नरमाया बन स्मृति प्रतिष्ठानद्वारा आयोजित दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा उपविजेता बनेका हल्दीबारी वडा नं–३ का फुटबल खेलाडीलाई एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ।

ढडुवा युवा क्लब परिवारले वडा कार्यालयसँग सहकार्य गर्दै आयोजना गरेको सम्मान समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष बिष्णुप्रसाद ओलीले खेलाडीप्रति हार्दिक बधाई व्यक्त गर्दै खेलकुद मार्फत युवामा उत्प्रेरणा जाग्ने बताए। उनले वृक्षमा जल अर्पण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रममा वडा सदस्य बिष्णुमाया तिम्सिना, रातमाटे सामुदायिक वनका अध्यक्ष जनक तामाङ, रणकाली सामुदायिक वन उपभोक्ता समूह का अध्यक्ष धन बहादुर सावा, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा देवी आचार्य, वडा सचिव राजन खतिवडा सहित खेलाडी, अफिसियल  तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो।

दुवै सामुदायिक वन अध्यक्ष—सावा र तामाङ—ले खेलाडीको प्रयास र समर्पणको प्रशंसा गर्दै निरन्तर सफलताको शुभकामना व्यक्त गरे। क्लबका सचिव अभिषेक खतिवडाले क्लब द्वारा युवाको नेतृत्व विकास, सामाजिक रूपान्तरण र सकारात्मक परिवर्तनका अभियानमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर हरेक कार्यक्रममा सहभागी हुन आह्वान गरे।

कार्यक्रमको क्रममा खेलाडीहरूले प्रतियोगिताबाट प्राप्त ट्रफी तथा बोर्ड वडा कार्यालयलाई हस्तान्तरण गर्दै जिम्मेवारी र गर्वको अनुभूति व्यक्त गरे। खेलकुदमै आधारित माग तथा आवश्यकताहरूलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता वडा अध्यक्ष ओलीले व्यक्त गरेका थिए।

 सोही अवसरमा कार्तिक २२ गते क्लबले आयोजना गरेको रक्तदानमा आर्थिक सहयोग गर्ने वडा कार्यालय ,रातमाटे र रणकाली सामुदायिक वन उपभोक्ता समुह,कल्याण सहकारी संस्था लाई क्लबले धन्यवाद सहितको सम्मानपत्र हस्तान्तरण गरिएको थियो।क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेको अध्यक्षतामा सम्पन्न सम्मान समारोहको सञ्चालन तथा सहजीकरण क्लबका सचिव युवा अभिषेक खतिवडाले गरेका थिए।