विर्तामोड । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टीको आन्तरिक चुनावलाई सौहाद्र्धपूर्ण र मेलमिलापका साथ सम्पन्न गरेर फागुन २१ गते हुने आम चुनावमा पार्टीका उम्मेद्वारहरुलाई गराउनेतर्फ आम नेता/कार्यकर्ताको योगदान रहनु पर्ने बताएकी छिन् ।

नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहकी नेता प्रसाईले पार्टीभित्र लामो संघर्ष गरेको र इतिहास बोकेको पुरानो पुस्ता, पञ्चायतकालमा दुःख गरेको अर्को पुस्ता, २०६२/०६३ बाट उदाएको पुस्ता र नयाँ पुस्ता गरी चारपुस्ता क्रियाशील रहेको  हुँदा सबैलाई समावेश गरेर मात्र पार्टी बलियो हुने भनाई राखिन् । 

निर्वाचित सभापतिमाथि आक्रमण हुनु वीपी कोइराला र गणेशमानको निवास, किसुनजीको आश्रम र पार्टी कार्यालयहरुमाथि भौतिक आक्रमण र तोडफोड हुनु सिंगो नेपाली कांग्रेसमाथिको आक्रमण भएको बताउँदै नेता प्रसाईले आफ्नै नेता र नेतृत्वको बद्नामी गरेर पार्टी बलियो हुन नसक्ने बताइन् ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने पक्ष, चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्ष र आम निर्वाचनपछि मात्र १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने पक्षधर विचार केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको विचार राख्दै कांग्रेस पार्टीभित्र भएको बहस लोकतान्त्रिक अभ्यासमात्रै भएको बताए।

विविध धारणा र विचारका बीच सर्वसम्मतीले महाधिवेशनको मिति घोषणा भएको हुँदा अब सबै नेता÷कार्यकर्ता मिलेर आम चुनावमा पार्टीले उठाएका उम्मेद्वारलाई विजयी गराउन लाग्नुपर्नेमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेता थापाले जोड दिए।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले पार्टीको १५ औं महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिका अनुसार क्रियाशिल सदस्यको नवीकरण र नयाँ वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीका पदाधिकारी, सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ/नगर सभापतिहरुको सहभागिता रहेको बैठकले कुनैपनि वडाबाट क्रियाशील नवीकरण छुट भएको भए आगामी मंसीर २५ गतेभित्र नवीकरण गरेर जिल्ला कार्यसमितिमा बुझाउन मातहतका निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

यसैगरी नयाँ क्रियाशिल सदस्यता वितरणका कार्य वडातहमा मंसीर २९ गतेभित्र सम्पन्न गरी  पालिका तहमा बुझाउने, पालिकाले पुष २ गतेभित्र प्रदेशसभा र क्षेत्रीय समितिमा बुझाउने एवं पुस ८ गतेभित्र क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा बुझाइसक्न समयसीमा निर्धारण गरेको छ । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले धन्यवाद ज्ञापन गरेको बैठकमा सहजीकरण सचिव कृष्ण हुमागाईले गरेका थिए ।