- सुदीप गिरी
हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाले किसानका लागि भन्दै वितरण गरेको ७ वटा ट्याक्टर वितरण कार्यक्रम असफल भएको छ। सहकारी संस्थाको ३० प्रतिशत लागत सहभागीता र गाउँपालिकाले ७० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराईएको थियो ।
कृषिमा आधुनिकिकरण र यान्त्रिकरण गर्ने प्रयास स्वरूप भन्दै झापा जिल्लामै स्थानीय तहले नमुना र पहिलो कार्यक्रम ल्याएको भन्दै तत्कालीन अवस्थामा ठुलै प्रचार प्रसार गरिएको थियो । जम्मा ७९ लाख ७९ हजार नौ सय ९५ रूपैयाँको लागतमा ७ वटा ट्याक्टर र कल्टिभेटर खरिद गरिएको थियो । उक्त ट्याक्टर पाउने संस्था मध्येको साना किसान सहकारी कृषि संस्था लि. जलथलले वडा नम्बर ३, ४ र ५ का लागि भन्दै ३ वटा ट्याक्टर लिएको थियो ।
गाउँपालिकाले अदुरदर्शी र अब्यहारिक ट्याक्टर खरिद गरेर दिदा सञ्चालन तथा ब्यबस्थापनमा कठिनाई भएको साना किसान कृषि सहकारी संस्था लि. का प्रबन्धक तारा खतिवडाले बताइन् । उनले भनिन् ‘पहाडी भेगमा चल्ने ठुलो ५५ हर्ष पावरको ट्याक्टर बितरण गरिएकोले ईन्धन तथा मर्मत खर्च अत्यधिक भएको कारण आम्दानी भन्दा खर्च धेरै गर्नुपर्ने अबस्था आएको हो ।’ पालिकाले ट्याक्टर खरिद गर्दाका बखतमा समन्वय नगरी आफ्नै खुसीले खरिद गरिएको थियो ।
संस्थाले ट्याक्टरको लागतको ३० प्रतिशतका लागि २०७४/१२/२८ गते पालिकाको खातामा १० लाख रुपैयाँ जम्मा गरेको थियो । त्यतिले लागतको तीस प्रतिशत नपुग्ने भन्दै गाउँपालिकाले सहकारीलाई रकम थप्न ताकेता गरेपछि २९ गते ४ लाख ८ हजार ५ सय पैतालिस रूपैयाँ पुनः पालिकाको खातामा जम्मा गरिएको देखिन्छ ।
पालिकाले तीन वटा ट्याक्टर र ३ वटा कल्टिभेटरको जम्मा ३४ लाख १९ हजार ९९७ रुपैयाँमा खरिद गरेको देखिन्छ । लागतको ३० प्रतिशत १० लाख २५ हजार ९९९ रूपैयाँ १० पैसा सहकारी संस्थाको लागत सहभागीता हुनु पर्नेमा पालिकाले १४ लाख ८ हजार ५ सय पैतालिस रूपैयाँ लिएको संस्थाको दाबी रहेको छ । उक्त बढी गएको पैसा पालिकाले फिर्ता नगरेको गुनासो संस्थाको छ।
रोचक कुरा त के छ भने यो समाचार प्रकाशित गर्दा सम्ममा एउटा ट्याक्टर मात्र संस्थाको नाममा देखिन्छ भने बाँकी छ वटा ट्याक्टरहरू संस्थाको नाममा छैन । ट्याक्टरहरूको धनी सनराईज बैंक बिर्तामोड शाखाको नाममा रहेको देखिन्छ भने ऋणी सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालि बिर्तामोड रहेको छ।
यता संस्थाले ट्याक्टर संचालन गर्नकै निम्ति छुट्टै एक जना कर्मचारी राखेर समेत कोशिस गरिएको जनाएको छ । तरपनि बार्षिक रूपमा आम्दानी भन्दा खर्च बढी भएपछि ट्याक्टर थन्क्याएर राखिएको छ। ट्याक्टरमा संस्थाले थप तीन थान ट«लि, तीन रोडाभेटर, तीन सेट क्याजुल गरी करिब २६ लाख लगानी भएको बताएको छ । तर, यो लगानी बालुवामा पानी जस्तैः भएको छ। यसको प्रतिफल शून्य रहेको छ । हाल वार्षिक हसकर्टी भईरहको छ ट्याक्टर चालु अबस्थामा छैनन् । सवारीसाधनको वार्षिक कर तथा नविकरण पनि भएको पाईदैन ।
हालै सम्पन्न संस्थाको बाहृौ वार्षिक साधारण सभाले ट्याक्टरले उद्वेश्य अनुसार उपलब्धि नभई अत्यधिक इन्धन खर्च आई संञ्चालन खर्चले धान्न नसकिने अबस्था रहेकाले उक्त ट्याक्टर हल्दीबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा बिकासका काम तथा फोहोर ब्यबस्थापन कार्यमा सम्वधित वडा कार्यालयको मातहातमा रहने गरि सञ्चालन गर्न गाउँपालिकालाई अनुरोध गर्ने निर्णय पारित भएसँगै हाल निस्कृय रहेको सम्पतिको सहि सदुपयोग भई पालिकाको बिकासमा सहयोग पुग्ने संस्थाका सहायक प्रबन्धक युवराज भण्डारीले बताए ।
समग्रमा हल्दिबारी गाउँपालिकाले ७०/३० मा वितरण गरेको ट्याक्टरले नत गाउँपालिका, नत सहकारी संस्था नत स्थानीय कृषक कसैलाई पनि लाभलायक र उपयोगी भएको देखिदैन ।
यता हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले तत्कालीन अवस्थामा आफू व्यक्तिगत रूपमा ट्याक्टर वितरण नगर्ने पक्षमा रहेको बताए । तत्कालीन परिस्थिति सम्झदै उनले भने ‘त्यहाँ निर्णय गर्नुपर्ने अवस्थै थियो, त्यतिखेर ट्याक्टर खरिद नगरौ भन्दा सहकारीका साथीहरू पालिकामा डेलिकेशन आउनुभयो, ट्याक्टर डेलिकेशनमा आउदाखेरी, लिदै गर्दाखेरी यसको व्यवस्थापकीय पक्षहरूको बारेमा ध्यान पुर्याउनुप र्ने थियो ।’
उनले बिगतमा जे जे भएपनि त्यसलाई सहि सदुपयोग गर्नुपर्ने बताए । लिङ्देनले किसान, जनताको हितको लागि दिएको बताउँदै त्यसको दुरुपयोग गर्न नपाइने बताए । उनले अब सहकारी शाखा र प्रमुख प्रशासकीय अधिकृतलाई समस्याको उचित समाधान र व्यवस्थापनको लागि निर्र्देशन दिएको समेत बताएका छन्।