सुरुङ्गा ।
कनकाई धाम धार्मिक विकास संस्थाले झापाको कन्काई नगरमा भएको गौ हत्याको विरोध गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । संस्थाले एक बिज्ञप्ती जारी गर्दै विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले गौ हत्याको विरोध, दोषीलाई कारवाही एवं विद्यमान कानूनको पालनाका लागि आग्रह गरेका हुन् ।
गत मङ्लबार प्रसिद्ध धार्मिक क्षेत्र कनकाई–३ सुरुङ्गास्थित टप्पु भन्ने स्थानमा भएको गौहत्या प्रति गहिरो शोक व्यक्त गर्दै गौ हत्यामा संलग्र व्यक्ति, गिरोहलाई तत्काल कडा भन्दा कडा कारवाहीको माग धार्मिक विकास संस्थाले बिज्ञप्ती जारी गरेको हो ।
नेपालको संविधानमा उल्लेख भएको राष्ट्रिय जनावर र ८३ प्रतिशत हिन्दुहरुले धार्मिक आस्था र सम्मान गरी पूजा गर्ने गरेको गौ माताको हत्याको घटनाहरु बढदै जानुले हिन्दु धर्म र संस्कृति प्रतिको ठाडो प्रहार भएको अध्यक्ष थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
साथै धर्म गुरु, नागरिक समाजले गरेको गौ हत्याको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप र धरपकड, लाठीचार्ज गर्नु निन्दनिय रहेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
मङ्गलबार दिउँसो १ बजेतिर गाई काटिएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय लीलाप्रसाद सिलवालको लैनोगाई चोरी भएको थियो ।
काटिएको गाईलाई विधिपूर्वक कनकाई माईमा लगेर अन्त्येष्टि गरिएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी अदालतबाट पशुपंक्षी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा दिन ५ म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
घटनाको विरोधमा धर्मगुरु सडकमा उत्रिएका छन् । गोलो गोवर्धन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर भारद्वाजको नेतृत्वमा गुरुहरूको टोली सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।