अर्जुनधारा  । 

सानैदेखि राजनीतिप्रति लगाव राख्ने राना २०३७ सालबाट विद्यार्थी राजनीतिमा होमिएका झापाको कम्युनिष्ट आन्दोलन र सामाजिक अभियानमा परिचित एक नाम हो हरि राना । २०३९/०४० सालमा नेकपा मालेले गठन गरेको तीन सदस्यीय एजीमा उनी सेक्रेटरी भएका थिए । राजनीतिको शुरुवातदेखि नै राना नेतृत्व तहमा रहेर सक्रिय बनेका थिए । ०४१/०४२ मा पीएजी गठन भएपश्चात बनेको पाँच सदस्यीय कमिटीमा ठूलो दुर्गा अधिकारी, स्वर्गीय यादव सुवेदी, डम्बर बस्नेत, बिर्ख प्रधान र राना थिए । त्यस पीएजीको पनि उनी सेक्रेटरी भएर काम गरे । २०४३ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको सदस्य बनाएर पार्टीले उनलाई मोर्चामा पठाएको थियो ।

प्रजातन्त्र आगमनपश्चात २०४८ सालमा राना नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका थिए। त्यसअघि उनी वडा सचिव भएर काम गरिरहेका थिए । २०४९ सालमा शनिश्चरेमा पार्टीले ११ सिटमध्ये अध्यक्ष र उपाध्यक्षसहित तीन् सिट जितेको थियो । उनले गाविस अध्यक्षमा लिलक सिटौलालाई ५० मतले पराजित गरे ।

फेरि २०५४ सालमा गाविस अध्यक्षका प्रतिद्वन्दी उनै लिलक सिटौलाई १ हजार ८ सय १८ मतको फराकिलो अन्तरले रानाले पराजित गरेका थिए । रानाले पुनः ०५४ देखि ०५९ सम्म गाविस अध्यक्षको जिम्मेवारी निर्वाह गरे । यसरी उनी लगातार एक दशकसम्म शनिश्चरे गाविस अध्यक्ष भएर काम गर्दै २०५४ सालमा एमाले विभाजन भएपछि पार्टीले उनलाई मालेमा लागेको आरोप लगायो, उनी मालेतिर नै लागे ।

२०५९ मा गाविस अध्यक्षको दोस्रो कार्यकाल सकेर करिब ५ बर्ष रानाले राजनीतिक जीवनबाट विश्राम लिए । राना पुनः २०६४ पछि सक्रिय राजनीतिमा फर्किए । ०६६–०६८ सम्म नेकपा एमालेको क्षेत्र नम्बर ४ को अध्यक्षको जिम्मेवारी सम्हाले । मुलुक संघीयतामा गएपश्चात अर्जुनधारा, शनिश्चरे र खुदुनाबारी गाविस मिलेर अर्जुनधारा नगरपालिका बन्यो । र, उनी नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा निर्वाचित भए । ०७४ को चुनावमा उनी ४२ सय बढी मतान्तरले विजयी बने । लामो समय जनप्रतिनिधि भएर काम गरेका अनुभवी राना नेकपा एमालेबाट विद्रोह गरेर बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट झापा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

उम्मेद्वार रानाका  यस्ता छन् एजेण्डा : 

‘लामो समय स्थानीय तहको नेतृत्व गरेको कारण समृद्धिको कुरा बुझेको छु । यहाँको प्राकृतिक स्रोत जल, जमिन र जंगललाई कसरी परिचालन गर्नुपर्छ भन्ने कुराको राम्रो अनुभव मसँग छ । लामो समय राजनीतिक संक्रमण हुँदा र दरिलो सरकार बन्न नसक्दा आर्थिक समृद्धि हुन सकेको छैन । हामीले प्राकृतिक स्रोतलाई सही ढंगले परिचालन गर्न सके आर्थिक समृद्धिका लागि कसैको मुख ताक्नु पर्दैन । नेपालको सबै पानी पिउन लायक छ । पानीको व्यवस्थापन गर्न स्वदेशी स्रोत (रेमिट्यान्स) को ५० प्रतिशत राष्ट्रिय गौरवको योजनामा लगानी गर्नुपर्छ र दिर्घकालीन योजना बनाएर त्यहाँ सेयर खुल्ला गर्नुपर्छ र लगानी गर्नेहरु विदेशबाट फर्किएर आएपछि त्यहीँ रोजगारी दिनुपर्छ । प्रचुर सम्भावना भएको चुरे वर्षेनी भत्किएर बंगालको खाडीमा पुग्छ । चुरेलाई खानीमा परिणत गरेर ढुंगा, गिटी विदेश निर्यात गर्ने हो भने वैदेशिक अनुदानको मुख ताक्नु पर्दैन । हाम्रो जंगल विनाश हँुदै गएको छ । पर्यावरण जोगाउन सकिएन भने भावी पुस्ताले अक्सिजन नपाउन सक्छन् । जंगलको संरक्षणमा सबैले जुट्नु पर्छ ।’

नेपालको उर्वरभूमि बलौटेकरण भइरहेको छ । यसलाई समुचित ढंगले व्यवस्थापन गर्न सकिएन भने ५० वर्ष पछि खेतीबारी होइन, सबै घरबारी हुनेछन् । जमिनमुनिको पानी सकिनेछ । यसो भएको कारण अब नीति निर्माणको तहमा पुग्नेहरुले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । ठूला–ठूला कुरा गरेर नागरिकलाई झुटा आश्वासन मात्र बाँड्ने होइन । भएका प्राकृतिक स्रोतकोे उच्चतम् प्रयोग गर्दै आमनागरिकको जीवन परिवर्तन गर्ने मेरो संकल्प र एजेण्डा हो ।

‘मैले चुनावी प्रतिष्पर्धालाई गहन रुपमा रुपमा लिएको छु । यद्यपि, अहिलेसम्म मैले चुनाव हारेको छुइँन । हिजो एउटा दलबाट चुनाव लड्दा पटक–पटक मतदाताको रोजाईमा परेको म अहिले तीनवटा प्रमुख दलको समर्थनमा साझा उम्मेद्वारको रुपमा मैदानमा उत्रिएको छु ।चुनावी प्रतिष्पर्धा स्वच्छ र स्वस्थ हुन्छ । परिणाम बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा आउनेमा म ढुक्क छु ।