• बिशाल गिरी 

देश भरी निराशा छाएको छ, युवाहरू विदेश पलायन हुनुदेखी बाहेक अरू विकल्प छैन । यसो भनी रहँदा कसले बनाउने त देश ? यो आजका युगका युवाहरूको चासोको विषय हुन अत्यन्त जरूरी छ । 

आज देशमा राजनीति र राजनीतिक पार्टी भनिसक्दा युवाहरूको फरक धारणा र विचार छ । राजनीतिले समाजमा एउटा अपहेलनाको परिभाषा निर्माण गर्दै आएको देखेके छु । 

आज म यहाँ हाम्रो राष्ट्रको एक गम्भीर र अत्यन्त महत्वपूर्ण विषयको बारेमा कुरा गर्न गरिरहेको छु । नेपालका युवाहरूको संघर्ष । हामी हाम्रो मुलुकको यात्रा, एउटा युग परिवर्तनको मोडमा उभिएका छौं । यो सत्यलाई नकार्न सकिन्न कि हाम्रो युवा पिढी अनेकौं चुनौतीहरूको सामना गर्दै छन् । यिनीहरू केवल भविष्यका नेता मात्र होइन, आजको समाजका सपनाहरू र आशाहरूको निर्माणकर्ता पनि हुन् । तर, यी सपनाहरू अत्याधिक कठिनाइ र देशका प्रणालीले थिचिएका छन् । जसले कहिल्यै उनीहरूको क्षमता र सम्भावनालाई प्राथमिकता दिएको छैन ।

नेपालका युवाहरू सधैं हाम्रो राष्ट्रका हृदय भएका छन् । यी युवा पिढीले हाम्रो संस्कृतिको ज्वाला, हाम्रो शिक्षा प्रणालीको मशाल र प्रगतिको ध्वजालाई हिजो र आजको युगमा पुर्याएका छन् । तथापि, यी सबैको बावजुद, उनीहरू निरन्तर संघर्षको अवस्थामा छन् र अनेकौं बाधाहरूको सामना गर्दैछन् । जसले तिनीहरूको समृद्धि र प्रगतिको मार्गलाई रोक्दछ ।

पहिलो र प्रमुख समस्या भनेको बेरोजगारी हो । शिक्षा प्रणालीको विकास भएता पनि, धेरैजसो युवा एक डिग्री हातमा लिएर पनि रोजगारको अभावमा रहेका छन् । जसको कारण उनीहरूलाई राम्रो अवसरको खोजीमा विदेश जानु पर्छ या असुरक्षित काममा बाँच्न बाध्य बन्नु पर्छ । यस अवस्थामा, हाम्रो युवा पिढीको सशक्त योगदानको अवसर गुम्दै गएको छ । यो एक ठूलो विपत्ति हो जुन हाम्रो मुलुकको भविष्यलाई कमजोर पार्दैछ ।

दोस्रो कुरा भनेको शिक्षाको गुणस्तर हो । हाम्रो शिक्षा प्रणालीले प्राविधिक दक्षता र सृजनात्मक सोचको विकासमा अझै कमजोरी देखाइरहेको छ । युवा मात्र डिग्री लिएर समृद्धि हासिल गर्न सक्दैनन्, उनीहरूलाई व्यवहारीक ज्ञान र कौशलको आवश्यकता पर्दछ । जसले उनीहरूलाई आधुनिक युगको चुनौतीसँग जुध्न सक्षम बनाउँछ । हामीले युवाहरूलाई सिर्जनात्मक सोच, आलोचनात्मक विश्लेषण र व्यावहारिक समाधानहरूको तयारी गराउनुपर्छ ।

त्यसैगरी, सामाजिक र राजनीतिक सहभागिता पनि एक ठूलो चुनौती हो। नेपालका युवाहरूलाई हाम्रो राजनीतिक प्रक्रियाबाट अलग राखिएको महशुस भइरहेको छ । भ्रष्टाचार, पारदर्शिताको अभाव र युवाहरूका आकांक्षाहरूको अवज्ञा गर्दै आएको प्रणालीले धेरैलाई निराश बनाएको छ । त्यसैले, हामीले युवाहरूलाई राजनीतिक प्रक्रियामा सक्रिय बनाउने र उनीहरूको आवाज सुन्ने वातावरण सिर्जना गर्नुपर्छ । जबसम्म हाम्रो युवा पिढीलाई राजनीतिक प्रक्रियामा समावेश गर्दैनौं । तबसम्म मुलुकको प्रगति सम्भव छैन । मुलुकमा परिवर्तन ल्याउन राजनितीको आवश्यक पर्दछ । यो सत्य हो, फरक यती हो राजनीति भनिरहँदा, मैले असल विचारको, असल राजनीतिको कुरा गर्दैछु ।

अन्त्यमा, हामीले मानसिक स्वास्थ्यको समस्यामा पनि गम्भीर ध्यान दिनु पर्दछ । आजको प्रतिस्पर्धात्मक संसारमा सफलता हासिल गर्नको लागि अत्याधिक दबाब र अनावश्यक अपेक्षाहरूले युवाहरूको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । अबका युगका युवाहरू जसलाई Gen Z (१९९७–२०१२) र अझ Gen Alpha (२०१३–२०२०) भनिन्छ । उहाँहरूलाई चाँडो भन्दा चाडो विकासको अपेक्षा हुने गर्दछ । हाम्रो युवा पीढी भावनात्मक र मानसिक रूपमा थकित छ । तिनीहरूको स्वास्थ्यलाई थाहा नपाएर मात्र हामी अन्देखा गर्न सक्दैनौं । यसैले, हामीलाई मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउन र यसलाई समाजका मुख्य भागको रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता छ । 

नेपालका युवाहरूको संघर्ष हाम्रो मुलुकको संघर्ष हो । यस अवस्थामा, हामी सबै मिलेर यसलाई समाधान गर्नु आवश्यक छ । युवाहरूलाई शिक्षा, रोजगार र राजनीतिक भागीदारीका अवसर प्रदान गर्दा मात्र हाम्रो राष्ट्रको वास्तविक प्रगति सम्भव छ । उनीहरूले केवल वाचा होइन, वास्तविक अवसर र समर्थन पाउनुपर्छ । यसका लागि हामी सबै मिलेर काम गर्न तयार हुनु पर्छ ।

हामीले आफ्नो युवा पिढीलाई त्यो शक्ति र अवसर दिनुपर्छ । जसले उनीहरूलाई भविष्यको नेपाल निर्माण गर्न सक्षम बनाउँछ । जबसम्म हामी युवाहरूमा लगानी गर्न, उनीहरूलाई समृद्धिका अवसर दिन र मानसिक स्वास्थ्य र समग्र सशक्तिकरणको लागि एक स्वस्थ वातावरण बनाउन प्रेरित गर्दैनौं । तबसम्म हामीले हाम्रो राष्ट्रको भविष्य सुरक्षित गर्न सक्दैनौं ।

सम्भवतः अबको समय भनेको हाम्रो राष्ट्रको भविष्य र यथार्थको निर्माणका लागि युवाहरूको साथ, साँचो समर्थन दिनु पर्ने समय आएको छ । यसो गर्दा मात्र हामी नेपाललाई नयाँ उचाइमा पुर्याउन सक्षम हुनेछौं । धन्यवाद । 

लेखक मेची बहुमुखी क्याम्पसबाट बिबिए पूरा गरी एमबिएस अध्ययनरत बिद्यार्थी हुन् । 

[email protected]