विराटनगर । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कानूनी राज्यको स्थापना  गर्न र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आएको छ । विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरेको छ । 

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहँदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन  तथा कानून र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन यो अभियानलाई तीव्रता दिदै आईरहेको छ । 

अदालतबाट कैद तथा जिरवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा बस्दा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढेर थप अपराध गर्न उत्तेजित हुने हुँदा फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर लागिरहेको छ । 

कोशी प्रदेश प्रहरीले सक्रियताका साथ प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता  दिने क्रममा यस आर्थिक वर्षको असार मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय मोरङले ११५६ जना, सुनसरीले १००२ जना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, धनकुटाले ५७  जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, उदयपुरले २६० जना, ओखलढुंगाले ६९ जना, सोलुखुम्वुले १४ जना,  खोटाङले ५३ जना र प्रादेशिक अनुन्धान समुहले १५ जना समेत गरी जम्मा  ३५१३ जना लाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुबाट  जम्मा १ हजार ४ सय १६ बर्ष भन्दा बढी कैद सजाय तथा  जरिवाना बापत १४ करोड ७७ लाख भन्दा बढी राजश्व संकलन भएको छ । 

फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथ र सहयोग अपरिहार्य भएको हुँदा गाँउ, घर, छिमेकमा लुकी छिपी बस्दै आएका फरार व्यक्तिहरुको बारेमा नजिकको प्रहरीलाई सूचना उपलव्ध गराई सहयोग गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी आग्रह गरेको छ । प्रहरीलाई सूचना उपलव्ध गराउने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने समेत  प्रहरीले विश्वास दिलाएको छ ।  प्रहरीलाई सुचना दिनुहोस प्रहरी तपाईहरुलाई सुरक्षा दिनेछ प्रहरीले जनाएको छ ।