• राजेन्द्र गौतम 

लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि  प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामर्थ्य नै विपी विविधता हो । विपी बिचार हो, विपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव ।  

यी विपी कोइरालाका कर्मका कुरा हुन् । हरेक मानिसको जन्म, नाम र कर्म आपसमा जोडिएर आउने विषय हुन् । उसोभए उहाँको नाम कसरी विश्वेश्वर रह्यो ।  यो आलेखमा उहाँको नाम कसरी विश्वेश्वर रह्यो ज्योतिषशास्त्रको आधारमा केलाउने सामान्य प्रयास गरिएको छ । 

विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको हो। एक शब्दमा भन्ने हो भने, वनारसमा जन्मिएकोले उहाँको नाम विश्वेश्वर रह्यो । यो पूर्ण तर्क होइन । यसलाई सिद्द गर्ने केही आधार छन् । ज्योतिषशास्त्रीय मत अनुसार  ग्रहनक्षत्रहरूको गतिअनुसार उहाँको जन्म २७ नक्षत्रहरुमध्ये  पहिलो नक्षत्र अश्विनी (चू, चे, चो, ला) को पहिलो पाउमा भएको मानिन्छ । 

जसअनुसार उहाँको नाम ‘चू’ अक्षरबाट सुरू हुने मध्ये एक चूडामणि राखिएको थियो । वनारसमा शिवको प्रसिद्ध मध्येको एक (संसारको प्रसिद्ध) विश्वनाथको मन्दिर छ । विश्वनाथको मन्दिर नजिक वनारसमा जन्मिएका बालक विश्वनाथ वा विश्वनाथका प्रसाद हुन् भन्ने ठानेर उहाँको नाम विश्वेश्वर राखिएको हो भन्ने मत छ । विश्वेश्वर स्वयं विश्वनाथ हुन् । 

विश्व जोडिएकैले उहाँ यही नामले (विश्वेश्वरप्रसाद कोइराला) विश्वमै प्रसिद्ध हुनुभयो । पहिलो नक्षत्रमा जन्मिएको मानिस विश्वमा प्रसिद्ध हुन्छ भन्ने शास्त्रीय मत पनि छ । यद्यपि, यो सर्वस्वीकार्य मत होइन र यसमा मताऐक्यता छैन ।  

नाम जसरी र जे रहेपनि उहाँका अनुयायीले थुप्रै उपमा दिएका छन्  र पुकार्छ्न् । त्यही मध्येका हुन्–जननायक र महामानव । जन, जनताको अगुवा वा अग्रणी भएकोले जननायक भन्न सकिन्छ, तर महामानव भन्न सकिन्न, मिल्दैन ।  यसका केही आधार छन्, केही मध्येको एक आधार यहाँ प्रस्तुत गरिएको छ । आज अग्रणी समाज सुधारक विपी कोइरालाको ४३ औं  स्मृति दिवस । यही सन्दर्भ जोडेर बहस गर्न वाञ्छनीय हुन्छ । 

आज विपीका हजारौँ अनुयायीले उहाँलाई महामानव भनेर पुकार्छन्, पुकारिन्छ ।  सामान्य चेतले नै भन्छ–यो सरासर गलत छ । मानव महामानव हुँदैन, महान् पुरुष हुनसक्छ । पुज्यव्यक्ति हुनसक्छ । त्यसैले विपीलाई ‘सुपरम्यान’ बनाउने गल्ती नगरौँ । 

 जर्मन दार्शनिक नित्सेको  दर्शन अनुसार विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्चमानव (सुपरम्यान) हुन्छ । त्यसैलाई आधार मान्ने हो भने पनि विपीलाई  महामानव भन्न हुन्न, सकिन्न ।   उत्सर्जितको अर्थ नै त्यागिएको, उत्सर्जन गरिएको हुन्छ । त्यसैले नित्सेको दर्शन विपीलाई सुपरम्यान बनाउनु हुन्न । 

नेपाली शब्दकोषलाई आधार मान्ने हो भने पनि विपी महान् पुरुष, अवश्य नै पुज्यव्यक्ती  हो । वैचारिक मतका आधारमा ठुला मानिस भन्नेमा सहमत हुन सकिन्छ ।  तर, परमात्म र विष्णुका रूपमा लिन हुन्न, स्वीकार्ने गल्ती गर्नु हुन्न । विपी सामान्य मानिस हो, उहाँ कर्मले महान् बन्नु भएको हो, महामानव बन्नु भएको होइन । 

अब पनि विपीलाई महामानव भन्ने चेतसँगै ल्याप्प हुने हो भने त्यो मर्दवाद हो । समर्थन गरेजस्तो गर्ने, यथार्थ कुरा बाहिर नल्याउने, विरोध नगर्ने, अलौकिक भन्ने चेतले विपीलाई महामानव भनिएको हो, यो नगर्नु नै राम्रो  ।  वनारसमा जन्मिएको र विश्वनाथ मन्दिरसँग नामको प्रसंग जोडिएकैले मानवलाई देवत्करण पनि गरिनु हुन्न । 

राजनीतिसँगै साहित्यको कोणबाट हेर्ने हो भने पनि विपी हरदृष्टिले अग्रणी समाज सुधारक हो । विपीका हरकृतिमा परिवर्तनको चेत छ । अन्तस्करणको चेत प्रत्येक कृतिमा छ । जहाँ मनोविज्ञानको पाटो उत्तिकै सशक्त र बेजोड छ । त्यसकारण पनि विपी अग्रणी सुधारक हो, महामानव होइन । 

विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्चमानव (सुपरम्यान) किमार्थ होइन ।  विपीलाई महामानव भन्ने गम्भीर भुललाई सच्याऊ ।  यो नै विपीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । प्रजातान्त्रिक समाजवादको प्रवर्तक र प्रतिपादकलाई आत्मरतिका खातिर महामानवको पगरी जरुरत हुन्न । उ कर्मले जन्मान्तर जीवित रहन्छ ।   

मुलुकमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गर्ने कोही छ भने विपी  कोइराला हुनुहुन्थ्यो । प्रथम निर्वाचित प्रधानमन्त्री बनेर पनि सर्वस्वहरणसहित निर्वासन, वर्षौंसम्मको नजरबन्द र काराबास सहज पचाउनु फराकिलो चेतको उपज हो ।   

विसं २०१५ संसदीय निर्वाचनपछि २०१६ जेठमा प्रधानमन्त्री बन्नु भएको विपी ६८ वर्षमा २०३९ साउन ६ यो धराबाट भौतिक रूपमा विलुप्त हुनुभएको हो । महामानव होइन, अग्रणी समाज सुधारक विपीप्रति श्रद्धासुमन ।