- धर्मेन्द्र मामा
असारको अन्तिम दिन बिर्तामोडमा एउटा रमाइलो कार्यक्रमको आयोजना भयो। नेल्टा झापा को संयोजनमा बिर्तामोड स्थित कन्काई रोडमा रहेको नोभा फाउन्डेसनमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट लामो समय शैक्षिक अनुभव बटुलेर फिनल्यान्ड गएका एक शिक्षक पुष्कर नेपालले फिनल्यान्डको शैक्षिक प्रणालीको बारेमा अनुभव साटासाट गर्ने कार्यक्रम रहेको थियो।
अनुभव सुनाउँदै नेपालले भने नेपालमा अपनाइएको शैक्षिक प्रणाली फिनल्यान्डको तुलनामा अत्यन्तै नाजुक र परम्परागत रहेको छ। उनले भने, फिन्ल्यान्डका विद्यालयहरूमा पाठ्यक्रम मात्र हुन्छ र उक्त पाठ्यक्रमबाट पाठ्यपुस्तक र पाठ्यसामग्री शिक्षक स्वयंले विद्यालयमै तयार गर्नुपर्छ। शिक्षकहरू आफ्नो कक्षाको लागि सम्पूर्ण रूपमा जिम्मेवार हुन्छन् त्यहाँ कसैको दबाब प्रभाव र प्रेसर हुँदैन। तर विद्यार्थीको सम्पूर्ण विकासमा शिक्षक स्वयंले नै जिम्मेवारी लिनुपर्ने हुन्छ।

त्यहाँका विद्यालयहरूमा स्कुल युनिफर्म हुँदैन। प्रार्थना कक्षाहरू समेत हुँदैनन् त्यहाँका विद्यार्थीहरूलाई ट्युसन पढाउन पाइँदैन सरकारले शिक्षक बैंकको व्यवस्था गरेको हुन्छ। सात वर्ष नपुगिकन विद्यार्थीले विद्यालय भर्ना हुन पाउँदैन।
त्यहाँका विद्यार्थीहरूका लागि सरकारले निःशुल्क शिक्षा निःशुल्क खाना निःशुल्क यातायात र विद्यालयमा नर्सिङ सेवा परामर्श सेवा र सामाजिक सुरक्षा सेवा उपलब्ध गराएको हुन्छ। शिक्षकले विद्यार्थी लाई कुनै पनि किसिमको शारीरिक या मानसिक यातना दिन पाउँदैन। विद्यार्थीहरूको फरकफरक क्षमता पहिचान गरी उनीहरूको इच्छा र चाहना बमोजिमको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने गरेको छ। त्यहाँको पढाइ अनुसन्धान र परियोजना कार्यमा आधारित छ।
त्यहाँको पाठ्यक्रममा आर्ट्स एण्ड क्राफ्टलाई महत्वपूर्ण स्थान दिएको छ। कक्षा कोठा प्रविधि मैत्री छन् र विद्यार्थीहरूले आइसिटीको प्रयोग मज्जाले गर्न पाउँछन्। रमाइलो कुरा त के छ भने विद्यार्थीहरूले कक्षाकोठामा परिस्थिति अनुसार उभिएर बसेर सुतेर वा आफूलाई सजिलो हुनेगरी फ्लेक्सिबल सिटिङ को उपयोग गर्ने गर्छन् तर कुनै पनि विद्यार्थीले एकले अर्कोलाई व्यवधान भने गर्दैन।
फिनल्यान्डको शिक्षामा कक्षा १ देखि नौ कक्षासम्म कुनै पनि किसिमको वार्षिक परीक्षा वा बोर्ड एक्जाम भने हुँदैन। कोलाबोरेटिभ एण्ड डिफरेन्सिएटेड लर्निङलाई प्राथमिकता दिइन्छ। समस्याग्रस्त विद्यार्थीहरूको लागि बेग्लै लर्निङ इन्भारमेन्ट को व्यवस्था गरिएको हुन्छ। अभिभावकहरू लाई विद्यार्थीको हरेक क्षेत्रको जानकारी गराइन्छ र अभिभावकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। तुलनात्मक रूपमा त्यहाँको जनसङ्ख्या थोरै छ र विकासको दृष्टिकोणले अत्यन्तै उच्च विकसित राष्ट्रमा पर्दछ।
आफ्नो अनुभव सुनाउँदै नेपालले भने छोटो समयको अवधिमा पनि फिनल्यान्डको शैक्षिक अनुभव हेर्दा नेपालले पनि केही अनुकरण गर्नुपर्ने र केही नयाँपन शैक्षिक क्षेत्रमा ल्याउनुपर्ने उनको बुझाई छ। खासगरी आर्ट्स एण्ड क्राफ्ट र कल्चरलाई हाम्रो पाठ्यक्रमले खासै महत्व दिएको देखिँदैन त्यसतर्फ ध्यान दिन सके विद्यार्थीहरुले माध्यमिक तह उत्तीर्ण हुने बेलासम्ममा आफ्नो व्यावसायिक क्षमता विकास गर्न सक्ने र उद्यमशीलतामा लाग्न सक्ने नागरिक तयार गर्न सकिन्छ।
नेपालमा पनि परम्परागत रूपमा अपनाइँदै आएको शिक्षण विधिलाई छोडेर शिक्षकले सहजकर्ताको रूपमा मात्र काम गर्नुपर्ने, विद्यार्थीहरूलाई रुचि अनुसारका क्रियाकलापहरूमा सहभागी गराएर अध्यापन गर्नुपर्ने, शिक्षकले आफ्नो कक्षाको विद्यार्थी को सम्पूर्ण पक्षको जिम्मेवार पूर्वक भूमिका निर्वाह गर्नुपर्ने आजको आवश्यकता हो।
अनुभव आदानप्रदान गर्न आयोजित उक्त कार्यक्रममा सहभागी शिक्षकहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए। नेल्टा झापाले यस किसिमका शैक्षिक अनुभवहरूलाई बेलाबखत अनुभव साटासाट जस्ता कार्यक्रमको आयोजना गरेर विश्वमा भइरहेका नयाँ नयाँ खोज अनुसन्धान र विधि प्रविधिहरूलाई शिक्षकहरू माझ पुर्याउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।