- गोमा लुइँटेल
मृत्यु प्रकृतिको नियम हो, न कसैले रोक्न सक्छ, न बदल्न नै । हामी जन्मिदै लिएर आएको निश्चित प्रक्रिया भनेकै मृत्यु हो बाँकि सबै अनिश्चित छन् । अघिपछि मात्रै हो तर, जन्मको अन्तिम गन्तव्य मरण नै हो । हामी प्रकृतिका उपहार हौं, त्यसैले अन्त्यमा प्राकृतिमै बिलिन हुनुपर्छ । आफ्ना आफन्त गुमाउन सजिलो कदापि हुँदैन न, त बिर्सन नै तर मृत्युपछि कोही पनि फर्केर आउदैनन् त्यहीँ भएर मरेका जतिसुकै नजिकका ब्यक्ति भएपनि बिर्सनु नै पर्छ ।
मैले मेरो घरको हजुरबुबा, आमा र मावलकि हजुरआमा जन्मिनु अगाडि नै गुमाएकी थिएँ । त्यसैले मलाई सम्झना नै छैन । मावलको हजुरबुबा देखेकी बोलेकी थिएँ र सम्झनामा हुनुहुन्छ । तर, त्यति धेरै सताउँदैन किन कि न त उहाँको तस्बिर छ मसँग न त समवेदना पत्र नै ।

हाम्रो समाजमा कसैको मृत्यु हुँदा समवेदना पत्र लिएर जाने चलन छ । त्यसरी समवेदना पत्र लादा मृतकका परिवारलाई त्यसले सधैंभरी सम्झना आउने र बिर्सन नसक्ने अवस्था हुन्छ । त्यसैले मलाई लाग्छ समवेदना पत्र दिनु मृतकका परिवारलाई थप पीडा दिनु जस्तै हो ।
अब कुरा गरौं मेरो बुबाको, उहाँले भौतिक संसारबाट बिदा लिनु भएको २१ महिना भयो । उहाँलाई पनि बिर्सनु नै पर्छ यो धुब्र सत्य हो । तर, जति बिर्सन खोज्छु त्यति यादहरु ताजा भएर आउँछन् कारण उहाँको निधन भएपछि सम्झना भन्दै आफन्त, छरछिमेकीले दिनु भएको समवेदना पत्रहरु मेरो मोबाइलको ग्यालरी भरी छन् ।
जुन न त म हटाउन नै सक्छु, न त कहिले पनि नहेरी बस्न सक्छु कहिले न कहिले त नजर परिहाल्छ र अन्तिम क्षणमा बोल्नु भएका हरेक शब्दहरु ताजा बनेर आउँछन् । अनि एक प्रकारको पिडा दिन्छ । जिउँदो हुँदाका तस्बिरले मिठो सम्झना दिलाउछ भने श्रद्धाञ्जली लेखिएका तस्बिरले नमिठो पीडा दिन्छ । ती समवेदनाका तस्बिरमा नजर परेपछि गुमाएको क्षणले मुटुको कुना कुनामा चिमोट्छ ।
जब यी सबै घटना क्रमहरु म आफैं नियालेँ तब मैले निर्णय गरेकी छु मेरो मृत्युपछि मेरो नाममा कसैले पनि समवेदना पत्र मेरा घरमा नलगिदिनु होला । म त मरिसकेकि नै हुन्छु मेरा आफन्त, छरछिमेकी, साथीभाइ तथा इस्टमित्रले सम्झिनु भएको न त म देख्न सक्छु न त सुन्न ।
हजुरहरुले दिनुभएको समवेदना पत्र घरभरी हुन्छ त्यसले मेरा छोराछोरीलाई मेरो याद झन् ताजा गराइदिन्छ, जसले माया होइन तनाव बढाएर मानसिक दुःख दिन्छ जुन म चाहान्न । जुरुक्क उठ्दा घरको भित्ताभरी झुन्डिएका समवेदना त्यो पनि तस्बिर सहितको मेरा छोराछोरीले देख्नु नपरोस् ।
समाजमा संस्कार तपाईं हामीले निर्माण गर्ने हो । देखावटको लागि गलत कुरालाई निरन्तरता दिनुपर्छ भन्ने मेरो मान्यता छैन । म चाहान्छु कि मेरो मृत्युपछि मलाई मेरा छोराछोरीले बिस्तारै बिर्सिएर आफ्नो दिनचर्या सहज बनाउनतर्फ ध्यान केन्द्रित गरून् । सम्झिने नै हो भने सफलतामा शुभकामना र असफलतामा प्रोत्साहन जिउँदोमै दिनुहोस् ता कि बाचुन्जेल सहज होस् मरेपछिको श्रद्धाञ्जलीको कुनै अर्थ छैन । त्यो चाहिँ झन् तस्बिरसहित लिखित दिनुको कुनै औचित्य देख्दिन । तपाईंको तथाकथित सम्झनाले मेरा छोराछोरीलाई पिडा दिन्छ भने त्यस्तो सम्झनाले कुनै अर्थ राख्दैन । यदि सम्झिनु हुन्छ भने जिउँदैमा सम्झिनु होस् मैले देख्न सुन्न पाँउछु तर मेरो मृत्यु पछि सम्झना स्वरुप समवेदना पत्र बनाएर घरमा दिने कष्ट नगरिदिनु होस् ।