झापा ।
चिया बगानमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न उद्योगीहरु सहमत भएपछि आन्दोलनरत ट्रेड युनियनको घोषित कार्यक्रम फिर्ता भएको छ । श्रमिकको निरन्तर दबाव र पटक–पटकको आन्दोलनका कारण उद्योगीहरु चिया कोषमा सूचीकृत गर्न सहमत भएका हुन् । चिया बगानमा कार्यरत श्रमिकका लागि ५ बर्ष अघि नै ऐन लागू भएको थियो । तर, विभिन्न कारण देखाउदै जारी गरिएको ऎनप्रति सहमत भएका थिएनन् ।
चिया क्षेत्रमा क्रियाशील तीन वटा ट्रेड युनियन र चिया उद्योगीका प्रतिनिधिबीच आइतबार झापाको भद्रपुरमा भएको वार्तामा उक्त सहमति जुटेको हो । उनीहरुबीच सरकारले तोकेको चिया श्रमिकको दैनिक ज्याला लागू गर्ने र चिया बगान तथा कारखानामा कार्यरतमध्ये पहिलो चरणमा नियमित श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने लिखित सहमति जुटेको अखिल नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष भुपाल सापकोटाले जानकारी दिए ।
उद्योगीहरुले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने लिखित सहमति जनाएपछि श्रमिकहरुले गत असार ३२ गतेदेखि घोषणापछि जारी राखेको आन्दोलन स्थगित गरेका हुन् । श्रमिकले भदौ १७ गतेसम्म सहमति नजुटे भदौ १८ देखि चिया बगान तथा कारखानामा कामकाज बन्द गर्ने अल्टिमेटम दिएका थिए । श्रमिकले ४ बुँदे माग राखी असार ३२ देखि आन्दोलन सुरु गरेका थिए । श्रमिकको दैनिक ज्याला वृद्धि हुनुपर्ने, श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नुपर्ने, पत्ती डबली वृद्धि गर्नुपर्ने र रोजगार सम्झौता पछि मात्र काममा लगाउनुपर्ने श्रमिकको माग थियो ।साप्कोटाकाअनुसार सरकारले गत साउन ३२ गते जारी गरेको चिया श्रमिकको दैनिक ज्याला ५ सय रुपैयाँ दिन समेत उद्योगीहरुले लिखित सहमति जनाएका छन् । वृद्धि भएको ज्याला साउन १ देखिकै प्रदान गर्न उद्योगीहरु सहमत भएको उनको भनाइ छ ।
चिया श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने कार्य पनि तत्काल सुरु गर्ने चिया उद्योगीहरुको संस्था नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले जानकारी दिए । ‘श्रमिकका मागमा हामी दुवै पक्ष बसेर वार्ता गर्यौं र सहमतिमा पुगेका छौं’ अध्यक्ष मित्तलले भने,‘बाँकी दुइटा मागका विषयमा पनि यही भदौभित्रै पुनः वार्तामा बसेर टुंग्याउने सहमति जुटेको छ ।’ सरकारले २०७५ मंसिरदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन लागू गरेको थियो । उक्त ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकले २०७६ मा ४४ दिनसम्म चिया बगान तथा कारखानामा हड्ताल गरेका थिए । तर, उद्योगीहरु ऐन लागू गर्न सहमत भएका थिएनन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिए पहिलो चरणमा कम्तिमा ५ हजार श्रमिक लाभान्वित हुने साप्कोटाको दाबी छ ।
सामाजिक सुरक्षा योजनामा श्रमिकको तर्फबाट आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत रकम जम्मा गरिन्छ । कोषमा सूचीकृत भएका श्रमिकले औषधि उपचार तथा स्वास्थ्य, मातृत्व, दुर्घटना, अशक्तता, वृद्धावस्था, आश्रित परिवार सुरक्षा योजना प्राप्त गर्नेछन् । वृद्धावस्था सुरक्षा योजना अन्तर्गत २८ दशमलव ३३ प्रतिशत र बाँकी रकम अन्य सुविधाको लागि छुट्याइएको छ ।
चिया बगानमा २०५१ देखि श्रमिकलाई स्थायी गर्ने चलन सुरु भएको हो । श्रमिकलाई स्थायी गरिएतापनि उद्योगीहरुले श्रमिकको सञ्चयकोष र उपदान बापतको करोडौं रकम आफैसँग राखेको आरोप खेप्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिए श्रमिकको सञ्चयकोष र उपदानसहितका सेवा सुविधाको रकम मासिक रुपमा बैंक खातामा जम्मा हुनेमा श्रमिकहरु आशावादी भएका छन् । झापामा करिब २६ चिया प्रशोधन उद्योग र ७० भन्दा बढीको संख्यामा बगान छन् । बगानमा ३६ हजारको हाराहारीमा चिया श्रमिक छन् ।