सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका–३ मा अज्ञात समुहले मंगलबार बिहानको राती लैनो गाई काटेको बिरोधमा अहिले साँझ नाराबाजीसहित सडक अवरुद्ध गरिएको छ ।
गौहत्या गरेको बिषयलाई लिएर श्री शताक्षीधाम गोलोक गोवर्धन गौशालाका गुरुसहित हिन्दूधर्मालम्बीहरुले सुरुङ्गा बजारमा चक्काजाम गरेका छन् । उनीहरुले गौहत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही गरिनु पर्ने मागसहित बिभिन्न नाराबाजी गर्दै सडक अवरुद्ध बनाइरहेका छन् ।
प्रहरीले सडक अवरुद्ध हटाउने प्रयास गरिरहेको बुझिएको छ । स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते गाई अज्ञात समूहले काटेर गौहत्या गरेको थियो ।
बिहान दुहुन जाँदा गोठमा गाई नदेखेपछि चोरी भएको भन्दै सिलवालले इलाका प्रहरी कार्यालय सुरुङ्गामा खबर गरेका थिए । गाईको खोजी गर्दा सोही स्थानका लीला संग्रौलाको घरभित्र काटेर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सो स्थानमा ज्याला मजदुरी गर्ने केही मुस्लिम समुदायका मान्छेहरु बसोबास गर्ने गरेको बुझिएको छ । प्रहरीले गाई काट्ने समूहको खोजतलास सुरु गरेको जनाएको छ ।