अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० स्थित कालीझोडाका अधिकांशले मुढा बुन्ने व्यवसाय गर्दै आएका छन् । सो क्षेत्रमा बर्षौदेखि मुढा बनाउने पेशाबाट घरपरिवार चलाउँदै आएको स्थानीयहरु बताउँछन् । 

कालिझोडा क्षेत्रका प्रत्येक घरमा मुढा बनाउने ब्यवसायसँगै सानोतिनो भएपनि रोजगारी मिलेको छ । कपडा बाहेक सिन्का र टायर लगाएको प्रति मुढा ३० रुपैयाँ र मुढाको बिट लगाएको प्रति मुढा १३ रुपैयाँ लिने गरेको मुढा बनाउने ब्यवसायीहरु बताउँछन् । 

२०६१ सालदेखि मुढा बनाउने काम गर्दै आएकी द्वारिका चौधरीले मुढा बनाउने सामाग्रीको मूल्य वढेकाले पहिला जस्तो मुढा व्यवसाय राम्रो नभएको बताइन् । उनले श्रीमान र छोरा पनि यसै पेशामा आवद्ध भएको बताउँदै मुढा बनाउने पेशाबाट महिनामा १५ हजार बढी रुपैयाँ कमाई भइरहेको जानकारी दिइन् ।

अर्की मुढा बनाउने ब्यवसायी अनिता राईले बासको काम गर्न सहज नभएपनि घरमै बसेर काम गर्दा केही आर्थिक आम्दानी हुने र खेर गइरहेको समयको सदुपयोग हुने बताइन् । विगत एक बर्ष अघिदेखि मुढा बनाउने पेशा गर्दै आएकी चम्पाकला राईले १२ वटा मुढाको बिट लगाएको १ सय ५० रुपैयाँ दिने गरेको जानकारी गराइन् । उनले घरखर्च भन्दा पनि खाली समयको सदुपयोग हुने भएकाले प्राय गाउँमा सवैले मुढा बनाउने गरेको जानकारी दिइन् ।

mudha

‘अरु काम गर्न सक्दिन’ गिता राईले भनिन् ‘मुढा बनाउने काम बसेर गर्न सकिन्छ ।’ उनले घरमै बसेर काम गर्न सकिने र त्यसबाट आएको रुपैयाँले नुनभूटुन खान सहज भएकाले गाउँभरी नै मुढा बनाउने पेशा खेती सरह भएको बताइन् ।  अर्का मुढा ब्यवसायी रत्न मुखियाले लकडाउन अघि १२ वटा मुढाको मूल्य एकहजार ९ सय रुपैयाँ लिने गरेको बताउँदै भने ‘अहिले एक हजार ७ सयमा बेच्न बाध्य छौं ।’ 

उनका अनुसार लकडाउन लगतै आएको निर्वाचनले मुढा ब्यवसाय खस्किएको छ । ‘अहिले मुढा बनाउने सामाग्रीको मूल्य बढेपनि पहिलाको भन्दा कम दाममा मुढा बेचिरहेको छौं’ मुखियाले भने ‘मुढा तयार गर्दा लाग्ने बासको सिन्का, ‘भेल्बेट’ (कपडा), डोरीलगायतका सामाग्रीमा मूल्य वढेको छ ।’ उनले काठमाडौं, पोखरालगायतका स्थानका मुढा प्रयोगकर्ताहरु भेल्बेट प्रयोग गरेको मुढा भन्दा प्लाष्ट्रिक प्रयोग गरेर बनाएका मुढाहरु रुचाउने गरेको बताए । प्लाष्ट्रिक प्रयोग गरेको मुढा एक बर्ष टिक्ने र भेल्बेट प्रयोग गरेको मुढा दुईबर्ष टिक्ने मुखियाले जानकारी दिए । पूर्वका मुढा प्रयोगकर्ताहरुले त्यो कुरा बुझ्न थाले पनि काठमाडौं र पोखरा तिरकाले अझै नबुझेको उनको भनाई छ । 

मुखियाले कालीझोडाका करिब तीनसय बढी मुढा बनाउने पेशामा आवद्ध रहेपनि पेशामा रहेका सवैको तथ्याङ्क नभएको बताए ।अर्जुनधारा १० को कालीझोडा क्षेत्रका अधिकांश घरपरिवार मुढा बनाउने पेशामा आबद्ध रहदै आएका छन् । 

कालीझोडामा प्रत्येक घरमा पेशाकै रुपमा रहेको मुढा बनाउने पेशालाई स्थानीय सरकारले ब्यवस्थित गर्न आवश्यक देखिन्छ । ब्यक्तिगत रुपमा रहेको मुढा बनाउने पेशालाई सामुहिक रुप दिन सके स्थानीयलाई रोजगारीसँगै मुढा ब्यवसाय फस्टाउने देखिन्छ ।