बिर्तामोड ।
छठ समाज सेवा समिति बिर्तामोडले छठ पूजाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । केही बर्ष यतादेखि कनकाई नगरपालिकास्थित विरिङ नदीमा हुँदै आएको छठ पूजाको सम्पूर्ण तयारी पूरा भएको शनिवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।
बिर्तामोड, चारपाने, लक्ष्मीपुर, दुर्गापुरलगायतका स्थानबाट भक्तजनहरु बिरिङ नदिमा आएर छठ पूजा गर्ने छठ समाज सेवा समितिका अध्यक्ष राजकुमार गुप्ताले बताएका छन् । पूजा सम्पन्न गर्न विरिङ नदिमा चारसय घाट पण्डाल निर्माण भइसकेको अध्यक्ष गुप्ताले जानकारी दिए । उनका अनुसार केहीले स्थानीय ठाउँमै पनि छठ पूजा गर्नेछ ।
आइतवार (भोली) साँझदेखि शुरु हुने छठ पूजामा भजन कृतन, झाँकी, सांस्कृतिक कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । पूजा सम्पन्न गर्न राजकुमार साहको संयोजकत्वमा छठ पुजा आयोजक मुल समिति गठन भएको छ । त्यस्तै घाट ब्यवस्थापनको संयोजकमा शंकर भगत र अर्थ संयोजकमा बरुणकुमार जैसपाल रहेको छठ समाज सेवा समितिका महासचिव मनोज रौनियारले जानकारी दिए ।
पूजाका लागि अनुमानित ८ देखि १० लाख रुपैयाँ खर्च हुने र उक्त रकम भक्तजनहरुबाट संकलन हुने आयोजले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान अध्यक्ष घनश्याम चौधरी, पूर्व अध्यक्ष देवेन्द्रकुमार सिंह, प्रेमचन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो ।
कार्तिक शुक्ल चर्तुदशीका दिनदेखि शुरु हुने छठ पूजाको पहिलो दिन ब्रतालुहरु बिहानै उठेर हातखुट्टाको नङ काटेर चोखो पानीले नुवाईधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्छन् । छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । दोस्रो दिन नुहाएर चोखो भई साँझपख ब्रतालुले सक्खरको खिर, लौकाको तरकारी जस्ता शुद्ध भोजन गर्ने उक्त दिन एकछाक मात्र भोजन गर्ने गर्छन् ।
त्यसैगरी छठको तेस्रो दिन ब्रतालुहरु पानीसमेत नपिई निराहार बस्छन्, साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलशायमा गई पानीमा डुवेर अस्ताउँदो सूर्यलाई पूजा गर्छन् । छठको दिन सूर्यलाई चढाउनका लागि तयार गरिएको सामाग्रीहरु घाटमा लगेर पालैपालो पानीमा डुवाएर सूर्य देवतालाई चडाउछन् । अर्घका लागि केही ब्रतालुहरु रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्छन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।
छठको चौथो दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरुले भोलीपल्ट उदाउदो सूर्यको पूजाआजा गरी बिहानीको सूर्यको न्यानो किरणसँगै ब्रतालुहरुले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसादहरु अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत सम्पन्न गर्दछन् ।