बिर्तामोड ।
झापाका किसानले उत्पादन गरेको माछाले बजार नपाएको कृषकले बताएका छन् । झापा माछाका लागि आत्मनिर्भर उन्मुख बन्दै गएपनि भारतीय माछाले यहाँको बजार ओगटेकाले झापाली किसानले उत्पादन गरेको माछा बिक्री नहुँदा किसान मारमा परेको बताइएको छ ।
झापामा ४ सयको हाराहारीमा ब्यवसायिक रुपमा माछा पालन गरिदै आएको र पंगास जातको माछा अधिक उत्पादन हुने गरेको ब्यवसायीले बताएका छन् । बिहीबार (आज) बिर्तामोडमा नेपाल माछा पालक किसान संघ झापाले पत्रकार सम्मेलनको आयोजना गर्दै माछा पालक किसानले उत्पादन गरेको माछाले बजार नपाएको दुखेसो पोखेका हुन् ।
भारतीय बजारबाट ठूलो परिमाणमा माछा भित्र्याएर गुणस्तरहिन माछा बिक्री गरिदै आएपनि झापामा उत्पादित ताजा र ज्युँदा माछा उपभोक्तासम्म पुग्नै नदिएको ब्यवसायीको आरोप छ ।
झापामा आयतित हुने माछामा अधिक फर्मालिनको प्रयोग हुने गरेको र त्यस्तो माछाको सेवनले मानव स्वास्थ्यमा गम्भिर असर पुुर्याउने गरेको नेपाल माछा पालन किसान संघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटीले बताए । समितिले ब्यवसायीको एकाधिकारका कारण झापाली किसानले उत्पादन गरेको माछाले बजार नपाएको शिवाकोटीको भनाई छ ।
बिर्तामोड बजारमा बिक्री हुँदै आएका माछा गुणस्तरहिन हुने भन्दै बिर्तामोड नगरपालिकाले समेत मरेका माछा बिक्रीमा रोक लगाएसँगै ब्यवसायीहरु अहिले आन्दोलित बनेको तर, उनीहरुको आन्लोलनमा कुनै तुक नरहेको नेपाल माछा पालन किसान संघ झापाका अध्यक्ष होम सिटौलाले बताए । नगरले गरेको निर्णय किसानको हितमा मात्र नभई आम जनसाधारणको हितमा छ अध्यक्ष सिटौलाले भने ‘नगरको निर्णय कार्यन्वयन गराउन हाम्रो साथ र सहयोग रहनेछ ।’
झापाका बजारमा अधिक मात्रामा पंगास जातको माछा बिक्री हुँदै आएता पनि आफुहरुले उत्पादन गरेका माछा साना भएको भन्दै ब्यवसायीले खरिद नगर्दा किसाान मारमा परेको बताइएको छ । अहिले झापामा पंगास, कमनकार्प, इलिस, रौं लगायतका माछा आम उपभोक्ताको रोजाईमा रहेपनि झापाली किसानले भने पंगास जातका माछा बढी पाल्ने गरेको पत्रकार सम्मेलन बताइएको छ ।
यता माछा ब्यवसायीहरुले बिर्तामोड नगरपालिकाले आफुहरुको ब्यवसायनै संकटमा पर्नेगरी गलत निर्णय गरेको भन्दै आन्दोलनमा छन् ।