झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर २ मा निर्माणधिन रहेको कनकाई बिर्ता अर्जुन नबिकरणीय उर्जा तथा फोहोर ब्यवस्थापन कम्पनी लिमिटेडले आगामी पुस १५ गतेदेखि कार्य सञ्चालन गर्ने भएको छ । 

कुहिने फोहोरलाई मंसिर १५ गतेदेखि डाइनेस्टर भित्र लगाउने गरी काम भइरहेको र पुस १५ गते भित्रमा उत्पादन गर्ने परियोजनाको योजना रहेको लिमिटेडका प्रबन्धक सञ्चालक दीपक चापागाई बताएका हुन् । 

लिमिटेडका प्रबन्धक सञ्चालक चापागाईका अनुसार उक्त स्थानमा हाल १५ जनाले दैनिक निर्माण कार्य गर्दै गरेका छन् । घरमै कुहिने र नकुहिने फोहोर नगरपालिकाहरुले छुट्याउने वातावरण मिलाउनु पर्ने उनले बताए । ‘यो सामाजिक परियोजना हो’ प्रबन्धक सञ्चालक चापागाई भने ‘कसैले रोकेर रोकिदैन ।‘ उनले परियोजनाको पहिलेको योजना १४÷१५ करोड लगानीमा लिमिटेड स्थापना गरेर कुहिने फोहोर मात्र ल्याएर बायोग्यास निकाल्ने र तीनवटा मात्र नगरपालिकाको फोहोर ब्यवस्थापन गर्ने योजना भएको बताउँदै चापागाईले भने ‘ पछि कुहिने फोहोर धेरै आउने भएकाले कुहिने र नकुहिने दुवै फोहोरको ब्यवस्थापन गर्ने खालको परियोजना तयार गर्ने योजना बनेको हो ।’ उनले त्यसका लागि बिज्ञहरुसँग सल्लाह सुझाव लिदा परियोजनाको लागत २४ करोड पुग्ने बताएका छन् । 

उनका अनुसार बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग सहकार्य भएको भए पनि मेचीनगर, शिवसताक्षी नगर र झापा गाउँपालिका पनि परियोजनामा सहभागीता जनाउने पक्षमा छन् । 

परियोजना तयारपछि झापाका सवै स्थानीय तहका फोहोर ब्यवस्थापन गर्न सकिने लिमिटेडका अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिए । उनका अनुसार फोहोर सेग्रीगेशनको लम्बाई ४० र चौडाई १७ मिटर रहेको छ । फोहोर सेग्रीगेशन गरेर छुट्याउने मेशीन खरिद प्रक्रिया सकिने क्रममा भएको अध्यक्ष तिम्सिनाले बताए । 

परियोजनाका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले उक्त परियोजना बरदान भएको बताएका छन् । उक्त परियोजनामा अधिकतम दैनिक ५५ टनसम्म फोहोर राख्न सकिने बताएका छन् । ‘दैनिक ४० टन फोहोर राख्यो भने एकहजार केजी बायोग्यास उत्पादन हुन्छ’ उनले भने ‘८ टन बराबर ठोस मल उत्पादन हुन्छ त्यस्तै ३० हजार लिटर झोल मल उत्पादन हुन्छ ।’

पछिल्लो समय बिर्तामोड नगरपालिकामा फोहोरको समस्या ठूलो चुनौतीको रुपमा देखिएको छ । तर, परियोजना शुरु हुने हो भने फोहोरलाई मोहोरमा बदल्न सकिने उनीहरु बताउँछन् । परियोजनाको भनाईलाई आधार मान्ने हो भने पुस १५ गतेदेखि फोहोर ब्यवस्थापन हुने र फोहोरको समस्या समाधान हुने देखिन्छ । 

urja