झापा ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज मनाउने तरिका फेरिदै गएको छ । केही समय अघिसम्म बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाच्दै गाउँदै मनाइने तीज आजभोली होटल तथा रेष्टुरेण्टमा पुगेको छ ।
एकदिन मनाइने तीज बिभिन्न संघ÷संगठन र समुहले करिव एक महिना अघिदेखि नै मनाउने गरेका छन् । अहिले तीजलाई तामझामका साथ मनाउनेको संख्या बढ्दै गएको पाइन्छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घर आँगन अहिले सुनसान जस्तै बनेका छन् ।
पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यवसायीलाई दर खुवाउन तीजका बेला भ्याइनभ्याइ भएको छ । नयाँ पहिरनमा सजिएर बिभिन्न महिला समूह तथा विभिन्न संघ÷संगठन मा आवद्ध महिलाहरु दर खाने र रमाउनेको जमात बढ्दै गएको छ । यो नयाँ शैलीको परिवेश शहर बजारमा मात्रै होइन ग्रामीण भेगमा पनि उस्तै हुँदै गएको छ । युट्व र मेम्मवरीबाट गीत बजाएर होटल र रेष्टुरेन्टमा दर खाने र नाच्ने प्रचलन बढ्दै गएको छ । साथै टिकटक र बेसबुकसहित अन्य सामाजिक सञ्जालमा तीजको पहिरन लगाएर नाचेको र दर खाएको फोटो र भिडियो पोष्ट गर्नेको जमात पनि बढ्दै गएको छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । अटल सौभाग्यको कामनाका लागि महिलाहरु आज व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दर खाएर आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्दछन् ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।
दुई वर्ष कोभिड १९ को प्रभावले घरभित्रै सिमित तीज यसवर्ष कोरोनाको सहज परिस्थिति बनेसँगै तीजको चहलपहल तथा रौनकता बढेको पाइन्छ ।