झापा । 

नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको संस्कृतिक पर्व साउन १५ अर्थात खिर दिवस आज घर–घरमा खिर खाएर मनाइदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

रोपाई सकिन आँट्यो या चलिरहेको रोपाईसँगै यो दिनलाई खिरले स्वादिलो बनाउँदै आएको छ । साउन महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस धेरै पाइन्छ । जुन लैनो गाई तथा भैँसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा रहेको छ ।

नेपालमा आज दूधको धेरै बिक्री हुने गरेको छ । झापाका दूध डेरीमा आज बिहानैदेखि  भिडभाड रहेको छ ।  शहरका डेरीमा अरू दिन ३–४ बजे सकिने दूध बिहान ९ नबज्दै सकिएको हुन्छ । 

नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ लिइने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा पनि परिचित छ ।