बिर्तामोड । 

 बिर्तामोड नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरेको छ ।  नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरु भएको अभियान अन्तर्गत सोमबार विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा कार्यक्रमको आयोजना गरीएको हो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मर्यादित समाज निर्माणको लागि कोहि कसैले अर्कोमाथि हिंसा गर्न नहुने धारणा राखिन् । उनले लैङ्गिक विभेद सामाजिक अपराध रहेकोले सबै सचेत हुनु पर्ने धारणा राखिन् । 

कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी,  ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्ट, मेची महाकाली बुहारी संयुक्त आवाज झापा संयोजक गंगा भट्टराई, बिरता लेडि जेसिसकी अध्यक्ष मेनुका ओलीले लैंगिक हिंसा रोक्न सबैले आ(आफ्नै ठाउँबाट सक्दो प्रयासमा जोड दिए ।  

नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल कुमार शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, निर्मला सुनार, जगतबन्धु राजवंशी,  महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायत  नगरका कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । सोमबार साँझ नगरपालिकामा दिप प्रज्जवलनसमेत गरिएको छ ।

नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान शुरु भएको इतिहास छ ।