बिर्तामोड । 

झापामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल सम्पन्न भएको छ  । संवाद समूह झापाको संयोजनमा बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले आगामी दिनमा सुधार गर्नुपर्ने विविध पक्षबारे सुझाव राखेका थिए । सरोकारवाला निकायका अधिकारीहरुले अपाङ्गमैत्री संरचना निर्माण, निर्वाचन आचारसंहिता कार्यान्वयन र मतदाता शिक्षा लगायतका विषयलाई अझ संवेदनशीलताका साथ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । 

सहभागीले निर्वाचन आचारसंहिता, मतदाता शिक्षा तथा अपांगतामैत्री संरचनाका विषयमा देखिएका कठिनाई र आगामी निर्वाचनमा गर्नुपर्ने सुधार बारे सुझाव राखेका थिए । उनीहरुले झापामा शान्तिपूर्ण र मर्यादित रुपमा निर्वाचन सम्पन्न भएको, समग्र पक्षमा विगतभन्दा सुधारभएको धारणा राखे । 

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले झापामा शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न भएको बताए । उनले सीमित साधन स्रोतकाबीच जिल्लामा विगतभन्दा व्यवस्थित र छरितो रुपमा निर्वाचन सम्पन्न भएको बताए । 

झापामा आचारसंहिता उल्लंघनको लिखित उजुरी नपरेको बताउदै उनले आचारसंहितबारे मौखिक रुपमा प्राप्त गुनासालाई तत्काल सम्बोधन गरेको भनाई राखे । उनले अपांगता भएका, असक्त, वृद्धवृद्धालगायतलाई सहज रुपमा मतदान गर्ने प्रबन्ध गरिएपनि अपांगतामैत्री संरचना नहुँदा केही स्थानमा कठिनाई भोग्नु परेको बताए । उनले आगामी निर्वाचनका लागि स्थानीय सरकारहरुले अहिलेदेखि नै अपांगतामैत्री संरचना निर्माण थाल्नुपर्ने सुझाव राखे । गौतमले मतदान केन्द्रको रुपमा विद्यालय प्रयोग हुने भएकाले हरेक विद्यालयमा अपाङ्गमैत्री  संरचना बनाउनु पर्नेमा जोड दिए । उनले मतदाता शिक्षा नयाँ मतदातासँगै पुरानो पुस्तालाई समेत धेरै आवश्यक देखिएको बताए । 

प्रमुख जिल्ला अधिकारी छवि रिजालले झापामा निर्वाचन शान्तिपूर्ण र विवादरहित रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरे । उनले झापामा राजनीतिक संस्कार राम्रो रहेकाले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए । साढे छ हजार सुरक्षाकर्मी र करिब ४ हजार निर्वाचन कर्मचारीको अथक मेहेनतमा निर्धारित समयमै मतदान तथा विगतभन्दा छिटो मत परिणाम सार्वजनिक गर्न सफल भएको बताए । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जिल्लामा निर्वाचन सफल र विवादरहित सम्पन्न गर्न सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त भएको बताए । उनले विगतमा भन्दा यो पल्ट आचारसंहिता पालनाको अवस्थामा उल्लेख्य सुधार आएको बताए । उनले पालिका प्रमुख र उपप्रमुखमा मात्र बदर मतको संख्या धेरै भएको बताए । उनकाअनुसार पालिका प्रमुख–उपप्रमुखमा करिब २० प्रतिशत, अन्य पदहरुमा १० प्रतिशत र पूर्ण मतपत्र नै बदर २ प्रतिशत भएको जानकारी दिए । आगामी निर्वाचनमा यो अवस्थामा सुधार गर्न आवश्यक कार्य गर्ने उनले बताए ।  जिल्लामा ३६ वटा दल र १२ स्वतन्त्र व्यक्ति उम्मेदवार बनेका थिए । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, जिल्लामा निर्वाचन पर्यवेक्षण गरेको नियोक झापाका अध्यक्ष डा.रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, समीक्षा कार्यक्रममा सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक प्रदीपसिंह कार्की, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरलगायतले निर्वाचनका राम्रा पक्ष, कमजोरी र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे धारणासहित सुझाव राखेका थिए ।