सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को वडा समितिले हालसालै घटेको घटना तथा जनगुनासोलाई ध्यान गर्दै दुई निर्णय गरी सार्वजनिक गरेको छ ।
सुरुङ्गास्थित वडा कार्यालयमा कार्यवहाक वडाध्यक्ष गोबिन्द सुवेदी, कर्यपालिका सदस्य कृष्णमाया भुजेल र वडा सदस्य सुश्मा परिवारले पत्रकार सम्मेलन गरी आज (बिहीवार) निर्णय सार्वजनिक गरेका हुन् ।
केही दिन अघि सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने गरी नेपालको संविधान २०७२ को मर्म भावना विपरित कनकाई–३ स्थित टप्पु चौकमा भएको गौहत्याले नगरवासीको मनमा आक्रोस र असुरक्षाको स्थिति उत्पन्न भएको जनाउँदै कनकाई–३ का सम्पूर्ण घर बहाल लगाउने घरबेटीहरुलाई आफ्नो घरमा भाडामा बस्ने सवै डेरावासीको परिचय खुल्ने प्रमाण पेश गर्नु पर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
जसमा नेपालीका हकमा नागरिकता प्रमाण पत्र वा जन्मदर्ता प्रमाण पत्र र विदेशीको हकमा आधार कार्ड वा राहादानीको फोटोकपी राखेर ३५ दिन भित्र विवरण बुझाउन सुचित गर्ने निर्णय गरिएको कार्यवहाक अध्यक्ष सुवेदीले जानकारी दिए ।
यसैगरी सुरुङ्गा बजार क्षेत्रमा जथाभावी रुपमा अव्यवस्थित तरिकाले केबल झुण्डिरहेको र दैनिक रुपमा केबल तारका कारण बस लरी तथा ट्रक अल्झिने र दुर्घटना हुने गरेको पटक–पटक जनगुनासो आउने गरेको वडाले जनाएको छ ।
सोही अवस्थालाई मध्येनजर गर्दै शहर बजारको सौन्र्दय कायम राख्न र सम्भावित दुर्घटनाबाट बच्न सुरुङ्गा क्षेत्रमा केवल नेटवर्क कम्पनी सञ्चालन गर्ने व्यवसायीहरुलाई छलफलका लागि १५ दिन भित्रमा वडा कार्यालयमा बोलाउने निर्णय गरिएको वडाध्यक्ष सुवेदीले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । पत्रकार सम्मेलनको सहजीकरण वडासचिव कमल भण्डारीले गरेका थिए ।