हल्दीबारी ।
कुष्ठरोग तथा हात्तीपाइले रोग भएका बिरामीहरूका लागि २ दिवशिय स्वंयम हेरचाह सम्बन्धी तालीम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।
सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले स्वयंम हेरचाह तालिम दिएपछि बिरामीहरूले आफ्नो सरसफाई कसरी गर्ने भनेर बुझेको र आफ्नो स्याहार आफैँ गर्न सक्ने भएको बताएका छन्।
पहिलो दिन रोगका लक्षणहरू, हुन सक्ने जोखिम तथा बच्नका लागि ध्यान दिनुपर्ने कुराहरुको बारेमा करूणा फाउन्डेसनका कार्यक्रम अधिकृत अंकित पाठकले र फेयरमेड कि रोजीना राईले जानकारी गराएका थिए । यस्तै दोस्रो दिन प्रयोगात्मक रूपमा प्लास्टिकका बाटामा पानी राखेर रोगले संक्रमण गरेका (घाउ) भएका हात खुट्टा डुबाएर सरसफाइ गर्न सिकाइएको थियो।
हल्दीबारी गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाका अनुसार प्रत्येक वर्ष यस्तो तालिमहरू सञ्चालन गरिदै आएको बताए। तालिमसँगै हात्तीपाइले र कुष्ठरोगीको मागको आधारमा सहायक सामग्री प्रदान गर्ने गरिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठकले बताए ।
सहारा नेपालको विश्वास परियोजनाले झापाका १० वटा पालिकामा १० प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगहरु कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेंगी र चिकनगुनिया, कलाजार, सर्पदंश, रेबिज, लुतो, फित्तेजुका र खस्रेको क्षेत्रमा काम गर्दै आएको छ।