सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले किसानललाई दक्षिण कोरिया पठाउन लागेको सम्पूर्ण खर्च भ्रष्टाचार भन्ने विषय गलत भएको दावी गरेको छ । 

कनकाई नगरपालिकाको पहलमा दक्षिण कोरिया पुगेर फर्केका कनकाई –८ का दिनेश न्यौपानेले नगरलाई आरोप लगाएको भन्दै उनी दुई पटक मेडिकल जाँच गर्दा अयोग्य भएका कारण फर्किएको स्पष्ट पारेको छ । 

उनीसँगै दक्षिण कोरिया गएका कनकाई नगरका १३ जना र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका ३ जना मध्ये न्यौपाने मात्र फर्किनुले पनि त्यो स्पष्ट भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । ‘एक लटमा जम्मा गएका १६ जना मध्ये न्यौपाने मात्र फर्किनुले पनि त्यो पुष्टि गर्छ’ नगर प्रमुख पोखरेलले भने ‘अन्य १५ जना दक्षिण कोरियामा हाल कार्यरत रहेका छन् ।’ 

उनले नजिकिदै गरेको स्थानीयतहको निर्वाचनलाई लक्षित गरी सानो कुरालाई ठूलो बनाएर हिलो र धुलो छ्याप्ने काम भएको बताएका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले सिर्जना गरिएको भ्रमप्रति दुःख ब्यक्त गरेका छन् । असल नियतका साथ काम गर्ने सवालमा भएका गल्ती कमजोरीप्रति आलोचनलाई शिर झुकाएर स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुरूपयोग गर्ने कसैको पनि अभिलाषा पुरा नहुनेमा आफु ढुक्क रहेको नगर प्रमुख पोखरेलले बताए ।

कनकाई नगरपालिकामा आइतवार पत्रकार भेटघाट गर्दै नगर प्रमुख पोखरेलले दक्षिण कोरिया वारे स्पष्ट पारेका हुन् । नगर प्रमुख पोखरेलले पत्रकार भेटघाटका क्रममा वितरित प्रेस वक्तव्यका अनुसार  दक्षिण कोरियाका येओलियानाम–डो र गोहेउङ–गुङ् नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी विभिन्न परियोजना सञ्चालनका लागि नगरपालिकाले पहलकदमी लिएको हो । 

विविध क्षेत्रमा सहकार्यका परियोजना अभिवृद्धिका लागि सन् २०२१ को अक्टुबरमा सहमति पत्रमा हस्ताक्षर समेत भइसकेको नगर प्रमुख पोखरेलले बताए । सोही सहमति अनुरूप कृषिसम्बन्धी तालिम र ज्ञान हासिल गर्न र थोरै भए पनि आयआर्जन समेत हुन सकोस् भन्ने हेतुले दक्षिण कोरियासँग सहमतिमा हस्ताक्षर भएको उनले बताए ।  नगरपालिका नगर कार्यपालिकाको बोर्ड बैठकबाट पारित गरी  नगरपालिकासँग सम्झौता गरी मौसमी कृषि प्रशिक्षार्थीका रूपमा कामदार पठाउने निर्णय भएको जनाइएको छ । । 

नगरपालिका पहलकर्ता मात्र भएका कारण यो सम्बन्धी सहजीकरणका लागि १२ वर्ष दक्षिण कोरियामा रही नेपाल फर्केका कनकाई ३ का सुशील मैनाली र कीर्तिपुर काठमाण्डौका हरिबहादुर फुयाँललाई संयोजन र समन्वयको जिम्मेवारी दिइएको प्रेस बक्तव्यमा उल्लेख छ ।

 कोरिया जान छनोट भएका कामदारहरूका विषयमा कनकाई नगरमा क्रियाशील राजनीतिक दलहरुसँग छलफल गरी स्वीकृति लिएर कार्यक्रम अघि बढाइएको उनले बताए ।  दक्षिण कोरियाबाट सिकेको सीप र प्राविधिक ज्ञानलाई स्वदेशमै उपयोग गर्न सकिने भएकाले सवैका हितका लागि उक्त कार्यक्रम अघि सारिएको उनको भनाई छ । 

दक्षिण कोरियासँग आवश्यक सम्झौता गरी यस नगरमा रहेका किसानलाई सहजीकरण मात्र गरेको हो । भगिनी सम्बन्ध विकास हुन खोजिरहेकोमा भ्रामक हल्ला फिजाएर आफुलाई बद्नाम गर्न खोजेको उनले बताएका छन् । 

डकुमेन्टेसन, भिजा प्रोसेसिङ, प्लेन भाडा, मेडिकल खर्च, बिमा खर्च, सीप तथा भाषा सम्बन्धी अभिमुखीकरण खर्च, पीसीआर तथा दक्षिण कोरिया पुगेपछि लाग्ने दश दिनको क्वारिन्टिन खर्च र कोरियामा गरिने मेडिकल खर्च सबै जाने किसानले नै ब्यहोर्नु पर्ने सहमती भएको उनले स्पष्ट पारे । 

नगरवासी किसानलाई केही सीप  तथा प्राविधिक ज्ञान हासिल गर्ने र थोरै भए पनि रकम आर्जन गर्न सहज बनाउन नगरले सहजीकरण गरेको गरेको उनले बताए । नगरपालिकालाई मेनपावर कम्पनी चित्रण गरेकोप्रति उनले आपत्ति गरे । कार्यक्रममा नगर उपप्रमुख मञ्जु दाहाल प्रसाईसहित वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।