- सुदिप गिरी
हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका कृषि बिकास शाखाले बेमौसमी अविरल बर्षा र हावाहुरीको कारण बालीनालीमा पुगेको क्षतिको विवरण सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक गरिएको विवरण अनुसार हल्दिबारी गाउँपालिका भित्रमा जम्मा २ हजार २ सय ५५ हेक्टर क्षेत्रफलमा बाली लगाएको मध्ये १ हजार २ सय ४५ हेक्टर धानवालीमा क्षती भएको छ ।
यो बालीको ४८ प्रतिशत नोक्सान हो । हल्दिबारी गाउँपालिका भित्रका ३ हजार ८ सय ५ घरधुरीको तथ्यांक, विवरण संकलन भएको थियो । नोक्सान भएको धानको जातहरूमा मुख्य रन्जित, सर्ना र कमल रहेको छ । कृषि तथा पशु शाखा प्रमुख सानुमाया श्रेष्ठका अनुसार संकलन भएको क्षतिको विवरण सम्बन्धित निकायहरुमा पठाई सकिएको छ । ‘गाउँ कार्यपालिकालाई पनि विवरण उपलब्ध गराईसकेका छौ ।’ तथ्याङ्क संकलन गर्नु अगाडि विपद ब्यवस्थापन समितिको बैठक बसेको र त्यस बैठकको निर्णय बमोजिम क्षतिको विवरण तीन प्रकारमा संकलन गर्ने निधो भएपछि पूर्ण क्षति, आंशिक क्षति र साधारण क्षतिगरी तीन प्रकारका तथ्याङ्क लिइएको उनले बताइन् ।
अविरल वर्षाका कारण वडा नम्बर १ मा १ हजार १ सय ५ घरधुरीले लगाएको ७ सय ३९ हेक्टर मध्ये ४ सय ६७ हेक्टर (६३ प्रतिशत) जमीनको धानबालीमा नोक्सान पुगेको छ । त्यस्तै वडा नम्बर २ मा ५ सय ८७ घरधुरीले लगाएको ४ सय २२ हेक्टर मध्ये १ सय ८० हेक्टर (४२.६५ प्रतिशत) जमिनको धानबालीमा क्षति भएको हो । त्यसैगरी वडा नम्बर ३ मा ६ सय १० घरधुरीले लगाएको ४ सय १९ हेक्टर मध्ये १ सय २१ हेक्टर (२९ प्रतिशत) जमिनको धानबाली नस्ट भएको छ । त्यस्तै वडा नम्बर ४ मा ९ सय ३ घरधुरीले लगाएको ६ सय ८८ हेक्टर मध्ये ३ सय २ हेक्टर (४४ प्रतिशत) जमिनको धानबालीमा क्षती पुगेको हो । वडा नम्बर ५ मा ६ सय घरधुरीले लगाएको २ सय ८७ हेक्टर मध्ये १ सय ७५ हेक्टरमा (६१ प्रतिशत)जमिनमा लगाएको धानबाली नस्ट भएको तथ्याङ्कले देखाएको छ ।
शाखाले विवरण उपलब्ध गराएपछि बिपद ब्यबस्थापन समितिको बैठक भने बसेको छैन । गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले गाउँ कार्यपालिकाको बैठक बसेर संघीय सरकार, प्रदेश सरकारले जस्तो राहत र सहयोग दिन नसकेपनि स्थानीय तहले आफ्नो तागतले भ्याएसम्मको राहतको घोषणा गर्ने बताएका छन् । उनले भने ‘गाउँपालिकाले के कस्तो राहत, सहयोग, क्षतिपुर्ति दिन्छौं भनेर सोध्ने गरेको बताए। के राहत दिने भन्ने कुरा गाउँ कार्यपालिकाको बैठकको निर्णयपछि मात्र निधो हुन्छ’ लिङ्देनले भने ‘अहिले आफूले त्यसमा केही भन्न नसक्ने अबस्था छ ।’
संघीय सरकारको मन्त्रीपरिषद्को बैठकले पीडित कृषकलाई राहत दिने बारे निर्णय भएको र त्यसको पूर्ण जानकारी पालिकालाई प्राप्त भई नसकेको अबस्था रहेको उनको भनाई छ । ‘प्रदेश सरकारले पनि कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र झापामार्फत विवरण तथा तथ्याङ्क मागे बमोजिम दिएका छौ’ उनले भने ‘पालिकाको बिपत ब्यबस्थापन कोषमा १० लाख मात्र रहेको र सो पनि हात्ती आक्रमण र क्षति, आगलागीलाई समेत राख्नु पर्ने हुन्छ ।’ उनले स्थानीय तहले केही न केहि चाहिँ पीडित किसानहरूलाई राहत अवश्य दिने बताए ।
हल्दिबारी –३ का स्थानीय किसान बिरेन महतोले आफ्नो जग्गा, जमिन नभएको र बबर्षैदेखि अरूको जग्गामा खेतीपाती गर्दै जीविको पार्जन चलाईरहेको बताए । ‘आम्दानीको अन्य श्रौत पनि केही छैन त्यहि धान अलिअलि बेचर वर्ष दिनभरि घर ब्यवहार चलाईन्थ्यो।’ उनले भने ‘यस वर्ष त हुनहार भयो बाली सबै नोक्सान भयो, मल बीउ जोताई खर्च,जन खर्चनै ऋणमा गयो।’ मालिकलाई कति दिने, आफ्नो परिबारले के खाने ? घर ब्यवहार कसरी चलाउने चिन्ता भइरहेको उनले गुनासो गरे । ‘स्थानीय नेताहरूले पनि केहि दिन्छन् भन्ने आशा गरेको छु’ उनले भने ‘ठूलो ठाउँमा जान र माग्न आफ्नो पहुँच पुग्दैन ।’ स्थानीय तहले जनताको पिडामा केहि राहत सहयोग घोषणा गर्न सके जनतमा पनि केहि आशाका किरण जाग्ने थियो ।