झापा ।
प्रत्येक १० वर्षभित्र गरिने राष्ट्रिय जनगणना यो वर्ष पाँच महिना ढिला गरी ‘मेरो गणना, मेरो सहभागिता ः राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ सुरु भएको छ ।
कोरोनाका कारण गत वैशाखमा हुने जनगणना रोकिएको थियो । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य आगामी २५ कात्तिक देखि ९ मंसिरसम्म चल्ने केन्द्रीय तथ्यांक विभागको कार्यतालिका छ । ३० भदौ देखि पहिलो चरणमा संकलन गरिएको तथ्यांकका आधारमा मूल गणना गरिनेछ ।
‘राष्ट्रिय जनगणना २०७८’ मा विदेशमा रोजगारी, अध्ययन, व्यवसाय र अन्य पेशाका लागि बसोबास गर्दै आएका नेपालीहरू २०६८ को राष्ट्रिय जनगणनामा जस्तै छुट्ने भएका छन् ।
मूल गणनामा नेपालमा रोजगारी, व्यवसाय, अध्ययन र अन्य पेशा गरी बसोबास गर्दै आएका विदेशी नागरिकहरू समेत गणना गरिने विभागले जनाएको छ । नेपालमा कति विदेशी बसोबास गर्छन्, के–कस्ता क्षेत्रमा रोजगारीमा कार्यरत छन्, कति परिवार बसोबास गर्छन्, र कुन देशका नागरिक नेपालमा बसोबास गर्छन् भन्ने विवरण यो जनगणनामा आउने विभागले जानकारी दिएको छ ।
२०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको विभागको तथ्यांकमा उल्लेख छ । जस अनुसार १९ लाख २५ हजार नेपाली विदेशमा थिए । उनीहरू विदेशमा रहेको भन्ने विवरण मात्र विभागले लिएको थियो । अहिले त्यो संख्या चार गुणाभन्दा धेरै बढेको हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ ।
रोजगारीसहित अन्य कारणले विश्वका १ सय ८९ देशमा नेपालीहरू बसोबास गरिरहेका छन् । भारतसहित सार्क राष्ट्र, एसियाली मुलुक, खाडीका देश, मलेसिया, युरोपका देश, अमेरिका, क्यानडा र अफ्रिकी देशमा रहेका नेपालीहरूको २०७८ सालको जनगणनामा विवरण मात्र संकलन हुने र उनीहरूको मुल गणना नहुने तथ्यांक विभागले जनाएको छ ।
अहिले विभिन्न देशमा करिब ७० देखि ७५ लाख नेपाली नागरिक रोजगारी, अध्ययन र व्यवसायका लागि बसोबास गर्दै आएको अनुमान छ । हाल भइरहेको जनगणनामा उनीहरू छुट्ने विभागले जनाएको छ । रोजगारी, अध्ययन र अन्य पेशा व्यवसाय गरेर बसोबास गर्दै आएका नेपालीहरू राष्ट्रिय जनगणना २०७८ मा छुट्ने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठ बताउँछन् । विदेशमा रहेका नेपालीको विवरण चाँहि आउनसक्ने तर गणनामा भन्ने उनीहरू छुट्ने महानिर्देशक श्रेष्ठले बताए ।
‘२०७८ को जनगणनामा विदेशमा रहेका नेपालीको वास्ताविक विवरण आउन गाह्रो छ । स–परिवार नै विदेशमा बसाई सरेको तथ्यांक लिन हामीसँग जनशक्ति अभाव छ’, उनले भने, ‘१० वर्षमा देशको जनसंख्या कति छ भनेर गरिने राष्ट्रिय जनगणनामा आफ्ना नागरिक समेट्नका लागि सक्दो प्रयास भइरहेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको चाहिँ परिवारको सहयोगमा विवरण संकलन हुनेछ ।’
सरकारले विदेशमा रोजगारी, अध्ययन र अन्य पेशा–व्यवसाय गर्दै आएका नेपालीहरूलाई जनगणनामा समेट्न विशेष छलफल गर्नुपर्ने उनले बताए । सरकारले २०७८ सालको जनगणनामा भारत बाहेक वैदेशिक रोजगारीमा कार्यरत करिब ४५ लाखभन्दा धेरै नेपाली समेट्ने लक्ष्य राखेको थियो । तर, विभागले सम्भव नहुने भनेपछि विदेशमा रहेका सबै नेपाली जनगणनाबाट छुट्ने भएका छन् ।
एउटा देशमा अध्ययन र रोजगारीका लागि गएका नेपाली नागरिक उतैबाट अन्य देशमा गएर बस्ने क्रम पनि बढ्दो छ । जसका कारण नेपालीहरू कुन देशमा कसरी पुग्छन् भने विवरण सरकारसँग छैन । रोजगारी, अध्ययन र अन्य पेशा–व्यवसाय गर्दै कति नेपाली विदेशमा बसोबास गर्छन् भन्ने तथ्यांक सरकारसँग छैन, जसका कारण २०७८ को जनगणनामा विदेशमा रहेका नेपालीलाई समेट्न सम्भव नरहेको रोजगारविज्ञ मधुविशाल पन्डितले बताए ।
सरकारले विदेशमा रहेका नेपालीलाई जनगणनामा समेट्न विशेष योजना बनाएमात्र सम्भव हुने पण्डितले बताए । ‘सरकारले राष्ट्रिय जनगणना जस्तो महत्वपूर्ण विषयमा विदेशमा रहेका नेपाली छुटाउनु भनेको दुर्भाग्य हो । विदेशमा बसाई सरेकाहरूका छिमेकी वा उनीहरूका आफन्तलाई आधार मानेर पनि तथ्यांक संकलन गर्नुपर्छ’, उनले भने ।
राष्ट्रिय जनगणना नेपालमा पहिलोपटक १९६८ सालमा भएको थियो । जनगणनाको १२ औँ शृंखलासम्म आइपुग्दा पहिलोपटक २००८ सालमा स्थगित भई २००९ र २०११ सालमा गरिएको थियो । कोरोना संक्रमणका कारण यसपटक पाँच महिना ढिलो जनगणना सुरु भएको हो ।
२०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको विभागको तथ्यांकमा छ । जसमा पुरुष १ करोड २८ लाख ४९ हजार ४१ र महिला १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ जना थिए । घरपरिवारको संख्या ५४ लाख ५३ हजार २ सय ९७ थियो । जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो ।