झापा ।
आज झापासहित देशभर विश्वकर्मा बाबाको पूजा आराधना गरी मनाइदैछ । असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । यो दिन वैदिक सनातन हिन्दू धर्मावलम्वीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।
विश्वकर्मा बाबा देवताहरुका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार तथा यानहरुका रचयिता एवम् निर्माता हुन् । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन्, उनको एकमात्र सन्तान छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसँग भएको थियो ।
विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणा हुन् । आजको आधुनिक युगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातुका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्दछन् ।
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापित गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पूजा गरिन्छ । तसर्थ, आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन् । मानव जीवनका हरेक यन्त्र तथा यान्त्रिक उपलब्धि हामीलाई सधैँ फापोस् अनि दुर्घटनाबाट सुरक्षा मिलोस् भन्ने कामना तथा विश्वास लिइन्छ ।
हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लाषपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।
भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्नभिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।
भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् ।
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा र अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।