उद्धव पुरी
बिर्तामोड ।
पछिल्लो समय कृषि पेशामा आवद्ध हुनेको संख्या वढेर गएको छ । कोरोना भाइरस महामारीका कारण नेपाल सरकारले देशभर पटक– पटक गरेर लगाएको लकडाउनका कारण कृषिमा चासो वढेर गएको हो । सरकारले गत बर्ष २०७७ चैत्र ११ गतेदेखि देशभर कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेको थियो ।
कृषि पेशालाई छोडेर शहर बजारमा व्यापार व्यवसाय सञ्चालन गर्नेहरु समेत अहिले कृषि पेशालाई अगाल्न बाध्य भएका छन् । महिनौदेखिको बन्दाबन्दीले गर्दा उनीहरु आजित भएर कृषि पेशालाई अगाल्न बाध्य भएका हुन् ।
शहर बजारमा व्यापार, व्यवसाय सञ्चालन गर्न नपाएपछि गाउँघरमा भएको आफ्नो थोर बहुत जग्गामा कुखुरा पालन, गाइपालन, शव्जीखेतीलगायत कृषि कार्यमा चाँसो वढेर गएको छ ।
अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारमा रहेको अञ्जली फिड् सप्लायर्सले ३०देखि ४० जना वोइलर कुखुरा पालक कृषकलाई कुखुराको चल्ला र दाना दिने गरेको सञ्चालक रमेश प्रधानले बताए । ‘कुखुरामा समय अनुसार कृषकलाई घाटा÷नाफा हुन्छ’ सञ्चालक प्रधानले भने ‘त्यो मात्र होइन कुखुरा पालकको लापारवाहीले पनि घाटा हुने गर्छ ।’ उनले एक करोडवढिको लगानी गरेर ४ बर्षदेखि कुखुराको डिलर सञ्चालन गरेको बताए ।
पछिल्लो समय बोइलर कुखुराको चारोको मूल्य अत्याधिक बढेको अर्का सञ्चालक तीथवहादुर प्रधानले बताए । वि जिरो चारोको मूल्य ३ हजार ९ सय २०, वि वानको ३ हजार ८ सय र वि टुको मूल्य ३ हजार ७ सय ५० रुपैयाँ पुगेको उनले जानकारी दिए । ‘कुखुरा वढि मरे कुखुरा पालकलाई घाटा हुन्छ ।’ सञ्चालक तीर्थले भने । उनले हालसाल बोइलर कुखुराको मासुको बजार मूल्य ३ सय ८० देखि ४ सय रुपैयाँ रहेको बताउँदै डिलरले अहिले २ सय ३० रुपैयाँ प्रतिकेजीले कृषकबाट उठाउने गरेको बताए । उनले समय अनुसार मूल्य घटवढ भइरहने भएकाले र कृषकको लापारवाहीले कृषक मारमा पर्ने गरेको उनको भनाई छ । लकडाउनले सवैलाई कृषिमा निर्भर बनाएको प्रधानको भनाईछ । लकडाउन अगाडिको तुलनामा कुखुरा पाल्नेको संख्या बढेको वढेको उनको भनाई छ ।