झापा । 

आज नागपञ्चमी आ–आफ्नो घरमा नागको पूजा गरेर मनाउने गरिन्छ ।  श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीका दिन मनाउने यो पर्व हिन्दुधर्मालम्वीहरुले मनाउने गर्छन् । नागपञ्चमी एउटा श्रद्धा र विश्वासको पर्वको रुपमा पनि मनाइन्छ । नागपञ्चमीमा  नाग धारण गर्ने भगवान शिवजीको पनि  पूजा आराधना गर्ने गरिन्छ।

नागपञ्चमीमा नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो सेतो अक्षता राखी गाईको गोबरले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ ।  आजको दिनबाट वर्षायाम सकिने र हिउँद शुरू हुने नेपाली समाजमा मान्यता छ ।  नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खनाग गरी अष्टनागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक शास्त्रहरुमा उल्लेख छ । नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ।

राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक , जरत्कारु र मनसादेवी सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकिएको र  सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएको दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको प्रसङ्ग शास्त्रहरुमा पाइन्छ ।  आज जजमानको घरको ढोकामा पुरेतले नाग टाँसेर भेटी लिने प्रचलन पनि छ । देशभरसहित झापाका मन्दिरमासमेत नागको पूजा गरिदैछ ।