भद्रपुर ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको घोषणा अनुसार झापाका पत्रकार तथा सञ्चारकर्मीहरुले मङ्गलबार जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमक अगाडि एक घण्टा धर्ना दिएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप, श्रमजीवी पत्रकारको निष्कासन लगायतका गम्भीर मुद्दाहरुलाई लिएर महासङ्घ झापा शाखाको अगुवाइमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित यो धर्ना कार्यक्रम सम्पन्न भएको हो । प्रशासन कार्यालयको मूल गेट अगाडि एक घण्टासम्म दिइएको धर्ना कार्यक्रममा झापाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न धर्ना सभामा पूर्व अध्यक्षहरु मोहन काजी र गणेश पोखरेलले मन्तव्य व्यक्त गर्दै राज्यले प्रेस स्वतन्त्रतामाथि पु¥याएको आघातप्रति तीव्र चिन्ता व्यक्त गर्नुभएको थियो । सोही अवसरमा विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनहरुको तर्फबाट प्रतिनिधित्व गर्दै ज्ञानेन्द्र निरौला, राजु पाठक, साबित्रा दाहाल र राजबाबु शंकर लगायतले आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रेस अधिकार बहाली नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो । उपाध्यक्ष सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन महासङ्घ झापाका सचिव प्रदीप परियारले गर्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घका अनुसार समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, मिडिया हाउसको गेटमा अनाधिकृत रूपमा गाडी तेर्साएर राखिएको र दोषीलाई कारबाही नगरिएको, तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास गरिएकाले आन्दोलनमा उत्रिनु परेको हो । त्यसैगरी गोरखापत्र लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट श्रमजीवी पत्रकारहरुलाई जबरजस्ती निष्कासन गरिएको, पत्रपत्रिकाले पाउने लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएको र समग्र मिडिया क्षेत्रमाथि आर्थिक नाकाबन्दी लगाउँदै अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारले अनुदार व्यवहार देखाएका कारण महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासङ्घ केन्द्रीय समितिले आन्दोलनका चरणबद्ध कार्यक्रम अन्तर्गत मंसिर २ गते प्रधानमन्त्रीलाई र मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरुलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । यसैगरी मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग तथा मंसिर ७ गते सबै जिल्ला शाखाहरुले सञ्चारसम्वद्ध संघ–संगठनहरुसँग आवश्यक छलफल गरेका थिए । सोही पूर्वघोषित कार्यक्रम अनुसार मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना तथा भेला सम्पन्न भएको हो । महासङ्घले आफ्ना यी प्रारम्भिक माग तथा आन्दोलनका कार्यक्रमहरुप्रति सरकार गम्भीर नभए र मागहरु तत्काल पूरा नगरे थप सशक्त आन्दोलनका कार्यक्रमहरु तय गर्ने चेतावनी दिएको छ ।
त्यस्तै इलाका प्रशासन कार्यालय दमकमा भएको धर्नामा संगठनहरुकोतर्फबाट गिरिराज भट्टराई, विष्णु पोखरेल, विमल लामिछानेले ऐक्यबद्धता मन्तव्य राखेका थिए भने महासंघ कार्य समिति सदस्य भूमिराज पराजुलीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम कार्य समिति सदस्य सुदीप अधिकारीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया 0