दुधे।
रेखा पौडेलको जादु चल्दा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब झापाको दुधेमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती युथ क्लबलाई ६–० गोल अन्तरले हराउँदै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको भेट पक्का गरेको छ ।
खेलको १५ औँ मिनेटमा कप्तान अमृता जैसीको गोलमार्फत पुलिसले अग्रता लियो । पूजा रानाको फ्रिकिकलाई सदुपयोग गर्दै जैसीले हेडमार्फत गोल गरिन् । १७ औँ मिनेटमा निर्मला बिकमाथि बागमतीका खेलाडीले डिएरियामा फल गरेपछि पुलिसले पेनाल्टी पायो । नेपाली राष्ट्रिय टिमकी नियमित सदस्य तथा पुलिसका स्ट्राइकर रेखा पौडेलले गरेको प्रहार गोल भएको थियो ।
४२ औँ मिनेटमा पुलिसले अर्को पेनाल्टी पायो । बागमतीका सुहानी राईले डि एरियामा रेखा पौडेललाई फाउल गरेपछि पाएको पेनाल्टीलाई रेखाले नै गोलमा परिणत गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सम्झना लावतीले गोल गर्दै पुलिसलाई जित नजिक पु¥याइन् । मिना देउवाले प्रहार गरेको बल रिबाउन्स भएपछि लावतीले पोस्टको दिशा दिइन् ।
खेलको ८३ औँ मिनेटमा डि एरिया नजिकै पाएको फ्रिकलाई सदुपयोग गर्दै रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । बागमतीका सलोनी चौधरीले रेखामाथि नै फाउल गरेपछि रेफ्री कृति सेन ठकुरीले फ्रिकिक दिइकी थिइन् । ८५ औँ मिनेटमा मैदानको मध्यभागबाट लगेको बललाई रेखाले विपक्षी पोस्टको सेकेन्ड बार च्यापेर गरेको प्रहार गोल भएको थियो ।
मध्यान्तरपछि पुलिसलाई बागमतीले दबाबमा राखेको थियो । बागमतीले विपक्षी पोस्टमा कुनै आक्रमण बुन्न सकेको थिएन । दोस्रो हाफमा पुलिसलाई दबाबमा राखेको बागमतीका स्ट्राइकर नचल्दा पहिलो खेलबाटै बाहिरिएको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि ९बुधबार० हुने पहिलो सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतिक्रिया 0