लक्ष्मीपुर । 

बागेश्वरी दुर्गा भगवती मन्दिरमा आयोजना गरिएको श्रीमद् भविष्य  महापुराण एवं धान्याञ्चल नवाह महायज्ञको उद्घाटन गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पाण्डवपुरमा अवस्थित  मन्दिरमा आयोजना गरिएको महायज्ञको बुधवार उद्घाटन गरिएको हो । यहि मंसीर ९ देखि १७ गतेसम्म आयोजना हुने महायज्ञको अर्जुुनधारा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रममा प्रमुख अतिथि बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका हुन् । 

pandabpur

महाभारत कालीन  पाण्डवपुर एक धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा सम्भावना बोकेको क्षेत्र होे । तर, आर्थिक अभाव साथै प्रचारप्रसारको कमीका कारण उक्त क्षेत्रको विकास सोचेजती गर्न नसकेको बागेश्वरी दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार उक्त क्षेत्रको विकासका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले महायज्ञ आयोजना गरिएको हो । 

महायज्ञमा पण्डित कृष्णप्रसाद न्यौपाने प्रमुख कथा वाचक  र  पण्डित दिपक सुवेदी  उपवाचक रहेका छन् । नौं दिनसम्म सञ्चालन हुने महापुराणमा आफुले सकेको आर्थिक सहयोग साथै साथ र सहयोग गरिदिन अध्यक्ष पौडेलले सवैमा  आग्रहसमेत गरेका छन् । समितिको गुरु योजना अनुसार  पाँच  पाण्डव मन्दिरलाई ऐतिहासिक  धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गराउने लक्ष्य रहेको छ ।  

पुराण आयोजक समिति संयोजक गणेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पताञ्जल योग समिति केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज जिवी तिवारी, विश्व हिन्दु महासंघ झापा सचिव ज्ञानेन्द्रबहादुर कार्की (गणेश), आचार्य पण्डित आसुतोष खनाल, समाजसेवी गोबिन्द कार्की, भानु माध्यमिक बिद्यालयका प्राचार्य रुपक दाहाल, संयोजक गणेश कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा मन्दिरको प्रतिवेदन सचिव देवराज बुढाथोकीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन पनि उनैले गरेका थिए । महायज्ञ अवधिभर भजनकिर्तनसहितको सांगितीक कार्यक्रम हुने छ भने बिहीवार बिहान ४ बजेबाट योग शिविरसमेत गरिने बताइएको छ ।