सुरुङ्गा ।

कृषि पेशामा भविश्य नदेखेर दैनिक सयौं युवा बैदेशिक रोजगारका लागि खाडी लगायतका मुलुकमा जाने गरेका छन् । कृृषि कर्म गर्नेले पनि भने जस्तो आम्दानी गर्न नसक्दा धेरैले मन खिन्न बनाउने गरेका छन् ।

 तर, झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित सुरुङ्गाका अधिकारी दाजुभाईले एक भारतीय नागरिकसँगको साझेदारीमा ब्यवसायीक अर्गानिक आलु खेती गरेर मनग्य आम्दानी गरेका छन् ।

कनकाई–४ का भीमप्रसाद अधिकारी र तीर्थ अधिकारीले भारतको किसनगञ्ज जिल्ला दिघल बैंकका रवीबुल हकसँग साझेदारी गर्दै शिवसताक्षी–१० मा झण्डे ६ बिघा जग्गामा आलु खेती गरेका छन् ।

दुई महिना अघि रोपिएको कुप्री सुन्दरी आलु हाल खन्ने काम भइरहेको छ । नेपालमा आलुको गुणस्तरीय बिउ नपाएपछि भारतको पटना पुगेर ५० कुइन्टेल बिउ खरिद गरेर ल्याएका उनीहरुले २ महिना अघि आलु रोपेका थिए ।  रोपिएको ५६ दिनपछि आलु खन्न तयार भएपछि अहिले आलु खन्न शुरु गरिएको भीमप्रसादले बताए ।

aalu 1

बिगतका बर्षदेखिनै उनीहरुले ब्यवसायीक आलु खेती गर्दै आएको भएपनि जमिन अभाव भएसँगै थोरै क्षेत्रफलमा आलु खेती गर्दै आएका थिए । यो बर्ष १४ बिगाहा जमिन लिजमा लिएर ६ बिगाहा क्षेत्रफलमा आलुखेती गरेको अधिकारीले बताए । बाँकी क्षेत्रफलमा तोरी, मकै, बदाम, सुठुनी, टमाटरलगायतका नगदेबाली लगाइएको उनको भनाई छ ।

हालसम्म ४०० बोरो आलु बिक्री गरिसकेको र अझै ५०० कुइन्टेल बढी आलु बिक्री गरिने अपेक्षा गरिएको तीर्थले बताए । आलु खेतीका लागि प्राविधिक ज्ञान खासै नचाहिने भएपछि कम जोखिममा बढी मुनाफा गर्न सकिने उनको भनाई छ । करिब १० लाख रुपैयाँ लगानी गरेर आलुखेती शुरु गरेको र आलुखेतीबाट १८ लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको अधिकारीले बताए ।

तोरी २ बिघा क्षेत्रफलमा र अन्य बाँकी जग्गामा मकै, बदाम, सुठुनी, टमाटरलगायतका नगदेबाली लगाइएको छ । उनीहरुले उत्पादन गरेको आलु बिर्तामोडको कृषि थोक र सुरुङमा बेच्ने गरिएको भीमप्रसादले बताए । उनीहरुले उत्पादन गरेको आलुमध्ये अहिलेसम्म तीन भागमा एक भाग मात्र खनेर बेचेको र अझै दुई भाग खन्न बाँकि रहेको बताइएको छ । ४० रुपैयाँ प्रति किलोको दरले बिक्री गरिरहेको आलुको हाल मुल्य घटेर प्रतिकेजी २८ रुपैयाँ भएको उनले बताए । भारतबाट ल्याइने आलुका कारण पनि मूल्य घटेको उनीहरुले बताएका छन् ।