बिर्तामोड ।
’भाषा संस्कृतिको संरक्षण र सम्वर्धन गरौ, सांस्कृतिक कार्यमा सामुहिकतालाई जोड दिउ’ भन्ने मुल नाराका साथ नेवाः पासा मुना पुचः बिर्तामोड नगर समितिको आयोजनामा सामुहिक वेलबिवाह तथा ब्रतबन्ध भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–६ स्थित भिमसेन मन्दिरमामा आठ जना वालिकाको वेलबिवाह (ईही) तथा पाँच जना केटाको ब्रतबन्ध (कयतापुजा) सामुहिक रुपमा भएको हो ।
नेवार समुदायमा रजश्वला नभएकी छोरी–चेलीको बेलसँग विवाह गरिदिने परम्परा अनुसार भात्रृ संगठन नेवा ल्याम्ह पुचः र नेवाः मिसा पुचः बिर्तामोडको सहआयोजनामा मंगलवार वेलबिवाह र ब्रतबन्ध सामुहिक रुपमा गरेको नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले बिगत ७ बर्षदेखि गर्दै आएको सामुहिक वेलबिवाह र ब्रतबन्धलाई प्रत्येक बर्ष निरन्तरता दिने बताएका छन् । बेलबिवाहमा ४ देखि १२ बर्षसम्मका कन्या र ब्रतबन्धमा १३ देखि १८/१९ बर्षसम्मका केटाहरु रहेको उनले बताए । उक्त कार्य प्रत्येक बर्षको माघ महिनामा गरिने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
कोरोना महामारीका कारण स्वास्थ्यका मापदण्ड पूरा गर्दै संगठन र भात्रु संगठनका सदस्यको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेवार समुदायमा सूर्य र बेलसँग विवाह नगरी मानिससँग बैवाहिक सम्बन्ध जोड्नु नहुने मान्यता छ । त्यसैले रजश्वला नहुँदै कन्याको बेलसँग विवाह गराइन्छ ।
व्रत बसेका बालिकाले भगवान शिवका पुत्र कुमारको स्वरूप मानेर बेलसहित कलश, बज्र र चक्रको पूजा गर्छन् र बालिकाका बुवाले कन्यादान दिने परम्परा रहेको छ । नेवार समुदायमा बेल जस्तो भयो भविष्यमा दुलहीको वर पनि उस्तै हुने विश्वास छ । बेल विवाहपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेर सूर्यदर्शन गराइन्छ । वयस्क भएपछि बरसँग विवाह गराइन्छ । बेलसँग विवाह भएका महिलाले श्रीमानको मृत्युपछि पनि सिन्दुर लगाउदा वाधा नपर्ने परम्परा छ ।
यो समुदायमा पछिल्लो समय सामुहिक वेल विवाह गर्ने प्रचलनसमेत बढेको छ । संस्कृति संरक्षणका लागि स्थापित संघ–संस्था र गुठीले सामुहिक वेल विवाह आयोजना गर्ने गरेका छन् वेल विवाहपछि घर–परिवार र आफन्तले छोरी–चेलीलाई उपहार दिने चलन छ । यसरी छोरी–चेलीको बेलसँग विवाह गर्दिए अभिभावकलाई पुण्य प्राप्त हुने जनविश्वास रहि आएको छ ।