- सुदिप गिरी
अहिले राजनीतिक दलहरू महाधिवेशनमा ब्यस्त रहेका छन् । राजनीति पार्टीहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने काम हुन्छ र नेतृत्वले पार्टीको आगामी बाटो कतातिर जाने भन्ने तय गर्छ । नेतृत्व शब्द नेताबाट आएको हो । नेता भनेको कुनै पनि समूहलाई अगुवाई गर्ने, निर्देशन दिने, प्रोत्साहित गर्ने र बाटो देखाउने व्यक्ति हो ।
नेताले कुशलतापूर्वक आफ्ना अनुयायीहरूलाई सामूहिक लक्ष्यतर्फ उन्मुख गराउँछ भने उसको त्यो अगुवाई भूमिका नै नेतृत्व हो । नेतृत्व भनेको समूहलाई प्रभाव पार्ने र नेताले सोचे अनुरूप कार्य गर्न प्रोत्साहित गर्ने कला वा प्रयास हो अर्थात् नेतृत्व भनेको परिस्थिति अनुसार निश्चित लक्ष्य प्राप्त गर्नका लागि व्यक्तिहरूलाई प्रोत्साहित गर्ने क्षमता हो ।
नेतृत्व एउटा गुण हो, जुन प्रत्येक व्यक्तिमा लुकेको हुन्छ । अर्थात् हरेक व्यक्तिभित्र नेतृत्व गर्ने नेता बन्ने गुण लुकेको हुन्छ । आफूभित्र सुषुप्त अवस्थामा रहेको नेतृत्व गुणको विकास गर्नु व्यक्तित्व विकास पनि हो । नेतृत्वले दूरदृष्टि निर्माण गर्दछ र अरूलाई त्यसप्रति आकर्षण र त्यससँग सम्बन्धित क्रियाकलापमा संलग्न हुने प्रेरणा दिन्छ ।
अहिले अबस्थामा समाजमा नेता भनेका ठूलो ठूलो स्वरमा भाषण गर्ने, आफ्नो गुट बनाउने, अर्को पक्षलाई चर्को स्वरमा गाली गर्ने, आफ्नो अगाडि पछाडि जय–जयकार गर्नेहरूको भीड बोकेर हिँड्ने, चाकडी, चाप्लुसीमा प्रफुल्लित हुने समाजका सर्वेसर्वा हुन् मालिक हुन् भन्ने आभास हुन लागेको छ । जुनसुकै समूह, संस्था, राजनीतिक दलमा नेता हुनु भनेको आफूलाई मालिक सम्झिने परिपाटी बन्दै गएको छ ।
समूहलाई घोडा ठान्ने र आफूले रथ हाक्ने प्रवृत्ति नेतामा देखिन्छ । जङ्गलमा जनावरहरूले आफ्ना सन्तान बाहेक अरूको ख्याल गर्दैनन् । तर मानिसहरूले अरूको ख्याल गर्ने हुँदा मानिसलाई सबै प्राणीमा विशिष्ट मानिएको हो । त्यसैले समूहको नेताले आफ्ना समूहका सबै सदस्यहरूको ख्याल गर्नुपर्छ । विपक्षी बिरोधीको दमन गर्ने निति भन्दा उसलाई नजिक गर्दै उसको मन, भावना, बिचार बुझेर उसलाई समेट्नु चाहिँ नेतृत्व कर्तामा हुनु पर्ने गुण हो ।
आफ्नो आफन्त र आफ्ना निकटतमहरूमा मात्रै आफूलाई केन्द्रित गर्दा असल नेताको धर्म विपरीतको कार्य हुन्छ, जुन नेपाली राजनीतिमा सबैभन्दा डरलाग्दो विषय बनिसकेको छ र आम जनतामा नेता भन्ने शब्द नै वितृष्णा गर्ने अबस्था बनिसकेको छ । जनताहरू यस्तो प्रबृतिको नेतृत्वको कारण चरम निराशा छाएको छ । जुनसुकै क्षेत्रलाई गति दिनका लागि, दिशा प्रदान गर्नका लागि प्रभावकारी नेतृत्व चाहिन्छ । नेतृत्वको अभावमा एउटा परिवार पनि खुसी र सम्पन्न हुन सक्दैन । एउटा समाज रचनात्मक दिशामा लम्कन सक्दैन र एउटा राष्ट्र अग्रगामी बाटोमा हिँड्न सक्दैन अर्थात् समग्र विकासका लागि कुशल नेतृत्वको आवश्यकता पर्दछ ।
यस अर्थमा परिवर्तनका लागि आत्मविश्वासले भरिएको इमानदार, प्रतिबद्ध, धैर्यशील, पारदर्शी र सकारात्मक दृष्टिकोण भएको, जिम्मेवारीलाई बहन गर्ने क्षमता भएको नेतृत्व चाहिन्छ । एक पटक हेरिसकेको नेतृत्व पुनः पटक पटक हेर्न जनता चाहिराखेका छैनन् । नेता सबैको साझा अभिभावक बन्नुपर्छ । जसरी भमराले फूलको रस लिने बेला फूलको रङ वा सुगन्ध बिगार्दैन त्यसैगरी आफ्ना अनुयायीहरूबाट नेताले लाभ लिने मात्रै होइन तिनको सुन्दरतामा अझ निखार ल्याउने काम गर्न सक्नु पर्छ । नेतृत्व भनेको समाज डोर्याउने साधन हो ।
उक्त साधन उत्तम भयो भने सही बाटोमा हिँडेर गन्तव्यसम्म पुग्न सकिन्छ अन्यथा समाज विकासको गति कुहिरोभित्र हराएको काग जस्तो रुमलिरहन्छ । नेतृत्वको अभाव भनेको भीड हो, अन्योलता हो, अराजकता हो र दिशाहीनता पनि हो ।नेतृत्वका लागि नैतिक शक्ति महत्त्वपूर्ण पुँजी हो । यसको अभावमा उ प्रेरक हुन सक्दैन ।
नैतिकताको अर्थ अन्धाधुन्ध कुनै निश्चित नियमहरूको सूची पालना गर्नु मात्र होइन । यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्बन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति विश्वस्त हुनु हो । नैतिकताको दृढ अभ्यासले हामीलाई सबैसँग मित्रतापूर्ण सम्बन्ध बनाउन सहयोग गर्छ । विचारको नेतृत्व चेतनाले गर्छ । चेतनामा विकास हुनका लागि स्वार्थता र व्यक्ति केन्द्रित सोच त्याग्नु पहिलो काम हो । विचार आफैमा फराकिलो हुन्छ । त्यसभित्र सामूहिकता रहेको हुन्छ । समानता, आर्थिक विकास, उच्चतम सकारात्मक सोच र विकासोन्मुख धारणा विचारका सुन्दर पक्ष हुन । यहीभित्रको दायरामा रहेर नेतृत्वले नेतृत्व गरेमा परिवर्तन र समृद्धि टाढा छैन ।
बिना बिचारको नेतृत्व भनेको नेतृत्व भनेको लगाम बिनाको घोडा जस्तो हो । जुन जतिखेर पनि घातक हुन सक्छ । नीति प्रधान हुनुपर्ने अवस्थामा जब नेतृत्व आत्माकेन्द्रित र स्वार्थमा अल्झिन्छ, त्यसले सिङ्गो देश र जनतालाई नै असर गर्छ । व्यक्ति आफूलाई नै केन्द्रमा राखेर गरिने नेतृत्वको आयु भनेको अल्पायु हो । यसले नेताका स्वार्थ घुलित सपना मात्र साकार हुन्छन् र भइरहेका पनि छन् । जसबाट जनताका आवश्यकता र असहजता सम्बोधन हुन सक्दैनन् । यो यथार्थ र तितो सत्य हो ।
राजनीतिको मूल मर्म र मान्यता नै बिर्सिएका अथवा थाहा नभएकाहरू नेपालको नेतृत्वमा हाबी बनिरहेका छन् । उनैका लागि हामी ज्यान दिन तयार छौँ, परिवार बिर्सिएका छौँ । आफन्त र समाज बिर्सिएका छौँ भने दोषी को ? हामी आम नागरिक या हामीले छानेको हाम्रो नेतृत्व ? उत्तर खोजिनु जरुरी छ । नेतृत्वको परीक्षा बिपरित र विषम परिस्थितिमा हुने गर्दछ । अनुकूल अवसरमा देखा परेको नेतृत्व प्रायः ऐतिहासिक हुँदैन । सङ्घर्ष र प्रतिकूलताले जन्मेको नेतृत्व आफ्नो क्षेत्रमा कोसेढुङ्गा साबित हुन्छ त्यसैले नेतृत्व परिवर्तन आजको आवश्यकता हो ।