झापा ।  

झापाको कचनकवल गाउँपालिका–४ लोधावारीबाट लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध अर्थात ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा शुक्रवार साँझ ५ः३० बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा भारत राज्य विहार जिल्ला किशनगञ्जका २५ बर्षिय मो. सोहेल, उनकै  श्रीमती सोही स्थानकी २९ बर्षियाकी तबसुम आरा  र  सोही स्थानका २४ बर्षिय  कचालु अन्सारी छन् । 

 जिल्ला प्रहरी कार्यालय झापा  र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको  संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ  शंकास्पद अवस्थामा पैदल आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरिएको थियो । 

तिनै जनाको साथबाट प्लाष्टिकको पोकामा ल्याएको  प्रतिबन्धित लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । तत्कालै तौल गर्दा  प्लाष्टिक वाहेक  ५८ ग्राम ४०० मिलिग्राम बरामद गरिएको थियो । थप अनुशन्धानको लागि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर राखिएको साथै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।