• सुदिप गिरी 

हल्दिबारी । 

‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत सम्वृद्वि’ भन्ने नारा अघि सारेको हल्दिबारी गाउँपालिको दृष्टि सहि र उचित ठाउँमा नपुगेको प्रष्ट भएको छ । 

वास्तबमा हल्दिबारी गाउँपालिका यस्तो भाग्यमानी गाउँपालिका हो जहाँ नेपालको सबैभन्दा होचो स्थानको प्राकृतिक जङ्गल रहेको छ । जुन जङ्गल एशियाकै सबैभन्दा जैविक विविधतायुक्त जङ्गल हो । यहाँ पहाड र तराई दुवै भागमा पाइने वन्यजन्तु, वनस्पति र चराचुरुङ्गीको बासस्थान छ । रैथाने हात्ती, मृग, हरिण, बँदेल, चितल,खिरखिरे, जरायो, खरायो,अजिङ्गर आदि जीव जनावरको बासस्थानको रुपमा यो प्रसिद्ध छ । जैविक विविधताले भरिएको दक्षिण पूर्वी झापामा अवस्थित जलथल (चारकोशे झाडी) जङ्गल ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा आयताकार आकृतिमा फैलिएको छ । 

जसको सिमाना पूर्वमा भद्रपुर नगरपालिका, पश्चिममा बाह्रदशी गा. पा.र दक्षिणमा कचनकवल गा. पा.सँग जोडिएको छ । हाल उक्त वनलाई जिल्ला वन कार्यालय झापाले सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत समुदायलाई नै हस्तान्तरण गरेको छ । हल्दिबारी गाउँपालिकाको भूभागमा रहेको जलथल जङ्गलमा २१ वटा वन उपभोक्ता समूह रहेका छन् । 

स्थानीय पुस्प राज निरौलाका अनुसार यस वनमा साल, साज, बोटधयेरो, लटहर, जमुना, क्यामुना, सिमल, लामपाते, कुम्भी, चिलाउने, करम लगायत ठूला रूख ७० प्रकारका, पोथ्रा १६ प्रकारका, झार ६७ प्रकारका र लहरा १० प्रजातिको भएको पहिचान भई सकिएको छ । ‘यी बाहेक वन सुपारी, वन सुन्तला, औटेङ्घा, कुसुम लगायतका फलफूल पाइन्छन्’ उनले भने जेठी मधु, सर्पगन्धा, हर्राे, बर्राे, अमला, कुरिलो, गुज्रो लगायतका जडिबुटी पाइन्छन् ।’ हालसम्म १ सय ५० प्रजातिका पुतलीहरू रहेको पाईएको उनले बताए । कालो धनेष, गरूड, सुगा, लुईचे, मयुर कुथुर्के जस्ता २०० प्रजातिका चराचुरूङ्गीको बासस्थान हो । कतै सम्म मैदान त कतै थुम्काथुम्की, कतै खोला, खोल्सी रहेको छ भने कतै भिरालो छ । प्रजातिहरूको सम्मिश्रण पनि अत्याधिक रहेको छ । यस्तो जैविक विविधताले भरिपूर्ण यो वनमा पर्यटनको केन्द्रको रूपमा विकास गर्ने सकिने ठूलो सम्भावनाको क्षेत्र हो ।

 तर पछिल्लो समयमा आएर प्रत्येक सामुदायिक वन समूहले आ–आफ्नो वनक्षेत्र भित्र आ–आफ्नै ढङ्गले प्रत्येक समूहमा एउटा एउटा सिमसार तथा पर्यटकीय क्षेत्र घोषणागरी बिस्तृत रूपमा अन्य सरोकारका निकायहरूसंग सरसल्लाह र लगानीको श्रोत नपहिल्यैकन प्रकृति र प्रर्यावरणलाई समेत ख्याल नपुर्याई जथाभावी वन भित्र कक्रिटका संरचना (गेट, भवन, मन्दिर) आदि निमार्णको काम गर्ने होडबाजीले वन त नस्ट हुने देखिन्छ साथै लगानी पनि खेर नजाला भन्न सकिन्न । स्थानीय तहले सुन र पितल छुट्टाउन नसकेको उनी बताउँछन् । ‘अन्यत्र ५ करोड खर्च गर्दा बन्ने सक्ने संरचना सो क्षेत्रमा २ करोडमा बन्ने छ’,  साथै वन उपभोक्ता समूहका कार्य समिति सदस्यहरू बिगत लामो समय देखि तिनै ब्यक्तिहरू रहेका छन ।’ जसरी पनि कार्य समितिमा अरू आउन नसक्ने रणनीति उनीहरुको रहँदै आएको छ । उचित ढङ्गले उपभोक्ताहरूलाई उपयोग गर्न नजान्नु पनि जलथल जङ्गलको ठूलो दुर्भाग्य भएको उनको भनाई छ । 

हल्दिबारी ३ का स्थानीय तथा उपभोक्ता लोकनाथ दाहालले जलथल जङ्गलका हल्दिबारी क्षेत्र भित्रका सामुदायिक वनहरूले एक आपसमा समन्वय गरी  एकीकृत तरिकाले ईच्छुक स्थानीय तह, संघ–संस्था, लगानी कर्ताहरू, बिज्ञको समेत सरसल्लाह र वन समूहहरू आपसमा मिलेर एउटा मात्र ठूलो एकिकृत परियोजना तयार गरी छुट्टै किसिमको(अन्यत्र नभएको) काठबाट डिजाइन युक्त भ्यूटावर, काठका नमुना पैदल मार्ग, चिल्ड्रेन पार्क, एक रूखबाट अर्को रूखमा माथि माथिबाटै जान सकिने प्रबिधि, जिप लाईन, रूखहरूमा हावाघरहरू जीव– जनावरहरूको लागि सुरक्षित बासस्थान, उनीहरूले खाने आहारबिहारको उचित प्रबन्ध मिलाई चिडियाखाना, प्रकृतिक दृश्य अवलोकनका लागि केवलकारको प्रबन्ध मिलाउन सक्ने हो भने हल्दिबारीले स्वदेशी र बिदेशी पर्यटनको आक्रसणको केन्द्रसगै अध्ययन,अबलोकन केन्द्र हुनुका साथै आर्थिक रूपले समेत सम्वृद्वि हासिल गर्न सकने बताए । 

हल्दिबारी वडा नं.४ का वडा अध्यक्ष होम चुडालका अनुसार गाउँपालिकाका जनप्रतिनिधिले जलथल जङ्गलको  बिषयमा खासै चासो नलिएकोले ओझेलमा परेको बताए । ‘मैले पाथिभरा पर्यटकीय क्षेत्रको ७ करोड ६५ लाखको डि पि आर तयार गरी संघिय सरकारको अर्थ मन्त्रालयमा बजेट बिनियोजन गरिदिन माग गरेको छु’ उनले भने ‘अर्थ मन्त्रीबाट बिनियोजन गरिदिने आश्वास समेत दिनुभएको छ ।’ उनले भने धेरै सम्भावना भएको ठाउँ धेरै आझोलमा पारिदै गरेको बताए ।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले जलथल जङ्गल महाभारत कालिन इतिहास बोकेको ठूलो जङ्गल भएको बताए । ‘यो जङ्गलको हतिहास धेरै पुरानो छ जुन किच्चकबधसँग समेत जोडिएको छ’ गिरीले भने ‘यसलाई पिकनिक स्पटको रूपमा बिकास गर्दा समस्या हुने भएकाले पनि यस्तो हुन सकेको छैन ।’ 

उनले पिकनिक स्पटका रूपमा बिकास गर्दा अत्यधिक मानिसको भिडभाड हुने, फोहोर मैला हुने, चुरोटका ठुटाहरू सालको पातमा सल्केर आगलागि हुन सक्ने बताए । ‘ त्यस कारण यसलाई खुल्ला चिडियाखाना बनाउने लक्ष्य लिएका छौ’ उनले भने ‘यो जङ्गलको जमिन प्रतिको आक्रमण रोक्न र त्यसलाई पर्यटकीय मार्ग बनायौ, जलथल जङ्गलसम्म पुग्ने बाटो कालोपत्रे सडक जोड्ने काम भईरहेको छ ।’ ठूलो जङ्गल भएको कारण सानोतिनो रकमबाट जलथल जङ्गल बन्न नसक्ने गिरीको भनाई छ । यसलाई केही सामुदायिक वन समूहहरूले धार्मिक स्थलका रूपमा बिकास गरिरहेका बताउँदै गिरीले भने ‘वन समूह तथा सहकारीहरूले साजेदारी गरी योजना लिएर आए आफूले सक्ने सहयोग गर्छु ।’ अहिलेको घडीमा यसलाई बचाई राख्ने र संरक्षण गर्ने काम भएको छ उनले बताए । 

(चारकोशे झाडीँ) जलथल जङ्गल हल्दिबारीलाई प्रकृतिको बहुमुल्य उपहार हो । यसको सुरक्षा र संरक्षण गर्नु हाम्रो दायित्व र जिम्मेवारी पनि हो । त्यसलै हामी सबै मिलेर हाम्रो यस वन जङ्गलको सहि उपयोग गरी यसबाट फाइदा लिने अनि त्यसको संरक्षण र पर्यावरणलाई स्वच्छ बनाउने कार्यमा जुट्नुपर्ने देखिन्छ ।