- शेखर सेढाई
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू उम्मेदवार छनोट र चुनावी तयारीमा जुट्न थालेका छन्। गाउँपालिका,नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको नेतृत्व कसले गर्ने भन्ने बहस पनि सुरु हुँदै छ। तर यसपटकको निर्वाचनमा हामीले केवल कसले चुनाव जित्छ भन्ने प्रश्नमा सीमित हुनु हुँदैन। हाम्रो मुख्य प्रश्न छ,अबको स्थानीय नेतृत्व कस्तो हुनुपर्छ?
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो। नागरिकले जन्मदर्तादेखि मृत्युदर्तासम्म,सडकदेखि खानेपानीसम्म,शिक्षा,स्वास्थ्य, कृषि,रोजगार र विकास निर्माणसम्म प्रत्यक्ष अनुभूति गर्ने सरकार यही हो। त्यसैले स्थानीय जनप्रतिनिधि केवल राजनीतिक पदाधिकारी होइनन्, जनताको दैनिक जीवनसँग जोडिएका जिम्मेवार "सेवक"हुन्।
निर्वाचन जितेपछि जनप्रतिनिधि कुनै एउटा पार्टीको मात्र हुँदैन। उसले आफूलाई मतदान गर्ने र नगर्ने दुवै पक्षका नागरिकको प्रतिनिधित्व गर्नुपर्छ। पार्टीको झण्डाबाट मात्र चुनाव जित्न सकिन्छ भन्ने भावनालाई निरुत्साहित गर्दै अब जनताको विश्वास र कामबाट मात्र चुनाब जित्न सकिन्छ भन्ने भावना जागृत गर्नु आवश्यक छ।
त्यसैले अबको जनप्रतिनिधिमा दलगत पूर्वाग्रहभन्दा माथि उठेर सबै नागरिकलाई समान व्यवहार गर्ने क्षमता हुनुपर्छ। विकासमा राजनीतिक भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। स्थानीय तहमा भ्रष्टाचार, अनियमितता,कमिसन र सार्वजनिक स्रोतको दुरुपयोगप्रति नागरिकको गुनासो रहँदै आएको छ। विकास बजेट कागजमा खर्च हुने तर नागरिकले त्यसको परिणाम अनुभूति गर्न नसक्ने अवस्था अन्त्य हुनुपर्छ।
अबको नेतृत्व इमानदार,स्वच्छ छवि भएको र आर्थिक रूपमा पारदर्शी हुनुपर्छ। बजेट कहाँबाट आयो,कहाँ खर्च भयो र त्यसबाट जनताले के पाए भन्ने कुरा नागरिकले सजिलै बुझ्न पाउनुपर्छ। जनताको कर र राज्यको बजेट व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो भन्ने चेतना जनप्रतिनिधिमा हुनुपर्छ।
चुनावको समयमा सडक,पुल, खानेपानी र अन्य विकासका आश्वासन बाँड्नु सजिलो छ। तर विकास भनेको बाटो र भवन निर्माण मात्र होइन।स्थानीय सम्भावनाको पहिचान,कृषि उत्पादनमा वृद्धि,स्थानीय उद्योगको विकास,पर्यटन प्रवर्द्धन,युवालाई रोजगारी, महिला उद्यमशीलता र सीप विकासलाई पनि प्राथमिकता दिनुपर्छ।
अबको उम्मेदवारसँग पाँच वर्षको स्पष्ट कार्ययोजना हुनुपर्छ। कुन काम पहिलो वर्ष गर्ने,कुन कामलाई प्राथमिकता दिने र उपलब्ध स्रोतबाट कसरी परिणाम निकाल्ने भन्ने विषयमा उसको योजना प्रस्ट हुनुपर्छ। राम्रो जनप्रतिनिधि त्यो होइन, जसले सधैँ भाषण गर्छ। राम्रो जनप्रतिनिधि त्यो हो,जसले जनताको कुरा ध्यानपूर्वक सुन्छ, समस्या बुझ्छ र समाधानका लागि पहल गर्छ।
जनताको घरदैलोमा पुग्ने, नागरिकसँग नियमित संवाद गर्ने, आलोचना स्वीकार गर्ने र आवश्यक पर्दा आफ्नो निर्णय सच्याउन सक्ने गुण नेतृत्वमा हुनुपर्छ। जनप्रतिनिधि हुन ठूलो शैक्षिक प्रमाणपत्र नै अनिवार्य योग्यता होइन। तर संविधान,स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुन,बजेट,योजना,प्रशासन र विकास व्यवस्थापनबारे आधारभूत ज्ञान आवश्यक छ।
पढेको मात्र होइन,सिक्न सक्ने, योग्य व्यक्तिको सल्लाह लिन सक्ने र विज्ञ तथा कर्मचारीसँग समन्वय गरेर काम गर्न सक्ने नेतृत्व चाहिन्छ। स्थानीय विकासको लाभ समाजका सबै वर्गसम्म पुग्नुपर्छ। महिला,दलित,अपाङ्गता भएका व्यक्ति,ज्येष्ठ नागरिक,विपन्न समुदाय र पछाडि पारिएका वर्गको आवाजलाई निर्णय प्रक्रियामा स्थान दिन सक्ने नेतृत्व आवश्यक छ।
युवालाई केवल चुनावी भीडका रूपमा होइन,नीति निर्माण र विकासको साझेदारका रूपमा हेर्नुपर्छ। उनीहरूको सीप,क्षमता र सिर्जनशीलतालाई स्थानीय विकासमा जोड्नुपर्छ। समय पहिला जस्तो छैन,बदलिएको छ। अब नागरिकले सामान्य कामका लागि पनि सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। डिजिटल सेवा,पारदर्शी सूचना प्रणाली,अनलाइन गुनासो सुनुवाइ र सार्वजनिक विवरण उपलब्ध गराउने व्यवस्था आवश्यक छ।
जनप्रतिनिधिले प्रविधिलाई आत्मसात् गर्दै प्रशासनलाई छिटो,सहज र "नागरिकमैत्री"बनाउन सक्नुपर्छ।
चुनाव जितेपछि पाँच वर्षसम्म जनतासँग सम्पर्कविहीन हुने नेतृत्व अब स्वीकार्य हुनु हुँदैन। जनप्रतिनिधिले नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्छ, वार्षिक प्रगति विवरण सार्वजनिक गर्नुपर्छ र चुनावमा गरेका प्रतिबद्धताको मूल्याङ्कन आफैँले पनि गर्नुपर्छ।
जनताले प्रश्न गर्दा रिसाउने होइन,जवाफ दिने संस्कार बसाल्नुपर्छ। आलोचनालाई शत्रुता होइन,सुधारको अवसरका रूपमा लिनुपर्छ।स्थानीय तहले एक्लै सबै काम गर्न सक्दैन। प्रदेश र संघीय सरकार,निजी क्षेत्र,सहकारी, नागरिक समाज तथा प्रवासमा रहेका नेपालीसँग समेत आवश्यक समन्वय गर्न सक्ने नेतृत्व चाहिन्छ।
तर समन्वयका नाममा आफ्नो स्थानीय तहको हित र अधिकारमा सम्झौता गर्नु हुँदैन। विकासका लागि सहकार्य गर्ने, तर गलत काममा सम्झौता नगर्ने स्वाभिमानी नेतृत्व आवश्यक छ।
नेतृत्व परिवर्तनको माग गर्ने नागरिकले पनि आफ्नो मतदान गर्ने संस्कार परिवर्तन गर्नुपर्छ। नातावाद,कृपावाद,आर्थिक प्रलोभन,भोजभतेर,जातीय तथा क्षेत्रीय आग्रह र पार्टीको अन्धसमर्थनबाट माथि उठ्न नसक्ने हो भने राम्रो नेतृत्वको अपेक्षा गर्नुको अर्थ रहँदैन।
उम्मेदवारलाई ५ प्रश्न:* तपाईंको पाँच वर्षको स्पष्ट योजना के हो ?* स्थानीय बजेट र खर्च कसरी पारदर्शी बनाउनुहुन्छ ?* युवालाई रोजगारी र उद्यमशीलतासँग कसरी जोड्नुहुन्छ ?* भ्रष्टाचार र अनियमितता रोक्न के गर्नुहुन्छ ?* पाँच वर्षपछि आफ्नो कामको मूल्याङ्कन जनतासामु कसरी प्रस्तुत गर्नुहुन्छ ?
यी प्रश्नको स्पष्ट जवाफ दिन नसक्ने उम्मेदवारलाई केवल पार्टीको लोकप्रियता वा व्यक्तिगत प्रभावका आधारमा निर्वाचित गर्नु हुँदैन।स्थानीय निर्वाचन लोकतन्त्रको जग हो। यही जग बलियो भए मात्र समग्र राज्य व्यवस्था बलियो हुन्छ। त्यसैले अबको निर्वाचनमा पार्टीको नाम,झण्डा र चुनावी नाराभन्दा माथि उठेर उम्मेदवारको चरित्र,क्षमता, इमानदारिता,दृष्टिकोण र जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ।
हामीलाई भाषण गर्ने नेता होइन, काम गर्ने नेतृत्व चाहिएको छ। आश्वासन बाँड्ने होइन,परिणाम दिने जनप्रतिनिधि चाहिएको छ। जनताको मत लिएर आफू ठूलो बन्ने होइन,जनताको जीवनस्तर उकास्न समर्पित हुने नेतृत्व चाहिएको छ। राजनीतिक दलहरूले पनि टिकट वितरण गर्दा गुट,नाता, आर्थिक प्रभाव र व्यक्तिगत पहुँचलाई होइन,जनताको विश्वास जित्न सक्ने योग्य व्यक्तिलाई प्राथमिकता दिनुपर्छ।
किनकि स्थानीय निर्वाचनमा हामीले केवल प्रतिनिधि चयन गरिरहेका हुँदैनौँ,आगामी पाँच वर्षको आफ्नो गाउँ र नगरको भविष्यको दिशा पनि निर्धारण गरिरहेका हुन्छौँ।
हाल: जापान, प्रतिकृयाको लागि: [email protected]
प्रतिक्रिया 0