बिर्तामोड । 

झापाको कनकाई नगरपालिकास्थित बिरीङ खोलामा आयोजना हुने छठ पूजाको तयारी तीव्र पारिएको छ । बिर्तामोडको अदुवा खोलामा घाट निर्माण गर्न स्थान अभावका कारण केही बर्ष यता यहाँका व्रतालुहरु ६ किलोमिटर पश्चिममा रहेको विरीङ खोला पुग्ने गरेका छन् । अघिल्लो बर्ष झैं यस बर्ष पनि विरीङ खोलामा छठ पूजाका लागि व्यवस्थित र भव्य तयारी गरिएको छठ समाज सेवा समिति बिर्तामोडकी अध्यक्ष संगीता रौनियारले जानकारी दिइन् ।

शुक्रवार बिर्तामोडमा समितिले पत्रकार भेटघाटको आयोजना गरी छठ पूजाको तयारी बारे जानकारी दिएको छ । छठ पूजाका लागि १९० पूजा घाट निर्माण भएको र एक घाट बराबर दुई जनाले पूजा गर्ने व्यवस्था मिलाइएको अध्यक्ष रौनियारले जानकारी दिइन् । समितिका सचिव जयकुमार झाका अनुसार पूजा सम्पन्न गर्न मूल आयोजक समिति संयोजकमा शंकर भगतलाई चयन गरिएको छ  भने विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । 

जस अन्तर्गत घाट तथा कुपन वितरण समितिको संयोजकमा रामेश्वर दुवे, अर्थसंयोजकमा मनोज रौनियार, सांस्कृति कार्यक्रम संयोजकमा लालबाबु साह, अतिथि सम्मान तथा सत्कारमा समितिको जिम्मेवारी छठ पूजा महिला मञ्चलाई दिइएको छ ।त्यसैगरी प्रचारप्रसार समिति संयोजकमा शत्रुघन रौनियार, शान्ति सुरक्षा र सामाजिक समिति व्यवस्थापनको जिम्मा पूर्वअध्यक्षहरुलाई र आवश्यकता अनुसार सबै क्षेत्रमा परिचालनका लागि युवा फ्रन्टलाई जिम्मेवारी दिइएको बताइएको छ ।

पत्रकार भेटघाटमा समितिका पूर्वअध्यक्ष घनश्याम चौधरीले समेत पूजा व्यवस्थापन तयारीका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले मन्तव्य व्यक्त गरेका थिए । छठ पूजाका लागि घाटको शुल्क बुझाउन नसक्नेहरुका लागि निःशुल्क घाट उपलब्ध गराउने व्यवस्था समेत गराइएको जनाइएको छ । रात्रिकालीन समयमा सांस्कृतिक कार्यक्रम तथा भजन गायन हुने बताइएको छ । पूजा स्थलको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापनका लागि प्रहरी प्रशासनसँग समन्वय गरिएको जनाइएको छ ।

कात्तिक शुक्ल चतुर्दशीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व राजधानीसँगै शहरी क्षेत्रमा मै मनाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । छठको पर्वको पहिलो दिनलाई नहाय खाय भनिन्छ । यस दिन ब्रतालुहरू बिहानै उठेर नजिकको पवित्र नदी वा तलाउमा स्नान गर्छन् । नुहाएपछि चोखो वस्त्र धारण गरी शुद्ध भोजन गर्छन् । विशेषतः यस दिन अरुवा चामलको भात, दाल र फर्सीको तरकारी खाने चलन छ । यो दिनदेखि ब्रतालुहरूले माछा, मासु, प्याज, लसुन लगायतका तामसी भोजन त्याग्छन् ।

 दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । यस दिन ब्रतालुहरू दिनभरि निराहार व्रत बस्छन् । साँझपख नुहाई धुवाई गरी चोखो भान्सामा गाईको गोबरले लिपेर शुद्धीकरण गरिन्छ । त्यसपछि माटोको नयाँ चुलोमा आँपको दाउरा बालेर खीर पकाउने चलन छ । यो खीर र रोटी चढाएर छठी माताको सामान्य पूजा गरिन्छ । त्यसपछि ब्रतालुहरूले यो प्रसाद ग्रहण गर्छन् र यस दिनदेखि कठोर निराहार व्रतको शुरुवात हुन्छ, जुन पारण नगरेसम्म जारी रहन्छ ।

पर्वको मुख्य दिन तेस्रो दिनलाई ‘सन्ध्या अघ्र्य’ भनिन्छ । यस दिन ब्रतालुहरू दिनभरि निराहार र निर्जला व्रत बस्छन् । साँझपख घरपरिवारका सदस्यहरूसँग मिलेर विभिन्न प्रकारका ठेकुवा, भुसुवा, फलफूल, नरिवल, उखु, केरा, मिठाई लगायतका प्रसादहरू बाँसको डालामा सजाएर नजिकको नदी, तलाउ वा जलाशयमा जान्छन् ।  अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ । यसबेला ब्रतालुहरूले पानीमा उभिएर सूर्य देवलाई अघ्र्य दिन्छन् र सन्तान तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन् । यस दृश्यले तराई मधेशका नदी र घाटहरूमा विशेष रौनक छाउँछ ।

पर्वको अन्तिम दिनलाई ‘बिहानी अघ्र्य’ भनिन्छ । यस दिन बिहान ब्रतालुहरू पुनः नदी, तलाउ वा जलाशयमा गई उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । सूर्योदयको समयमा पुनस् पूजा अर्चना गरिन्छ । यसरी सूर्य देवको पूजा गरी ब्रतको समापन हुन्छ । अघ्र्य दिएपछि प्रसाद वितरण गरिन्छ र त्यसपछि ब्रतालुहरूले प्रसाद ग्रहण गरी पारण गर्छन् । यस दिनदेखि छठ पर्व विधिवत रुपमा सकिन्छ ।

सन्तान प्राप्तिको कामनाले व्रत गर्ने धेरै सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना गर्ने प्रचलन छ । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि उल्लेख्य रहेको पाइन्छ । छठ पूजा समिति गुह्येश्वरीका उपाध्यक्ष राजकुमार पोद्दार सन्तान प्राप्तिको कामनाले छठ व्रत गर्नेहरु बढिरहेको बताउँछन् । छालासँग सम्बन्धित रोगबाट मुक्तिको कामनाले व्रत गर्ने दोस्रो नम्बरमा हुने गरेका छन् । अन्य कामनाले व्रत गर्नेहरु पनि छन् । 

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई पूजा, आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।                

सूर्य पुराणमा उल्लेख भए अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात भएको अर्काथरीको भनाइ छ । यस वर्ष कात्तिक २९ गते आइतबार बेलुकी अस्ताउँदो र कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको छ । सूर्यलाई अघ्र्य दिएसँगै चार दिने छठ पर्व समापन हुनेछ ।