झापा ।
आजदेखि झापासहित तराईक्षेत्रमा छठ पर्व सुरु भएको छ । तिहारसहिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु छठ पर्व शुरु भएको हो । चार दिनसम्म मनाइने छठ पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारी स्वरूप आजदेखि घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले वातावरण छठमय बनेको छ ।
पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।
छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्व केन्द्रित बन्दै गएको छ । झापाका खोला, नदी र तालहरुमा छठका लागि घाट निर्माण कार्य भइरहेको छ । झापाको मेचीनदी, बिरिङ खोला, कनकाई माई नदी, रतुवा खोला, निन्दा खोलासहित बिभिन्न खोलानाला र तालहरुमा छठ पर्वका लागि घाट निर्माण गर्ने कार्य भइरहेको छ ।
छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुने गरेको छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने भएकाले यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास छ ।
प्रतिक्रिया 0